अछामको चौरपाटीमा मदिरामाथि प्रतिबन्ध केवल कागजमै: कार्यान्वयनमा उदासीनता

अछामको चौरपाटीमा मदिरामाथि प्रतिबन्ध केवल कागजमै: कार्यान्वयनमा उदासीनता
प्रकाशित : :

अछाम : अछामको चौरपाटी गाउँपालिकाले केही वर्षदेखि कमसल खालको मदिरा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै गाउँपालिकाले कमसल खालको मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । तर, हाल उक्त निर्णय कागजमै सीमित भएको देखिएको छ ।

गाउँपालिकाले गरेको प्रतिबन्धात्मक निर्णयलाई नजरअन्दाज गर्दै व्यापारीहरूले खुलेआम रूपमा गैरकानुनी रूपमा मदिरा बेचबिखन गरिरहेका हुन् । अघिल्लो सरकारले पालिकाभित्र न्यून गुणस्तरका मदिरा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाएको थियो ।

त्यस बेला पनि सो निर्णय पूर्ण रुपमा कार्यान्वयन नभए पनि व्यापारीहरुले लुकी चोरी मात्रै महङ्गो रकममा मदिरा बेच्ने गरेका थिए । तर अहिले भने खुलमखुल्ला सो मदिराको बिक्री वितरण तथा ओसारपसार भइरहेको हो ।

केही महिना अगाडी पालिकाभित्र मदिरामाथि लगाइएको नियम खुला गर्नु पर्ने भन्दै चर्को बहस समेत भएको थियो । मदिरा व्यापारी र केही राजनीतिक दलका प्रतिनिधिले मदिरा निर्वाध रुपमा बेच्न पाउनु पर्ने माग गरेका थिए ।

तर गाउँ कार्यपालिकाका भदौ ५ गतेको निर्णयले मदिरा बिक्री वितरण तथा ओसारपसारमा लगाइएको प्रतिबन्ध कायमै रहेको र थप कडाई गर्ने निर्णय गरेको थियो । साथै पालिकाले नियम उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने चेतावनी दिएको थियो ।

तर सो निर्णय भएको झण्डै तीन महिना पुग्नै लाग्दा पनि व्यवहारमा लागु भएको छैन । त्यसबेला सो निर्णयले स्थानीय जनतामा सकारात्मक सन्देश प्रवाह गरे पनि हाल त्यसको कार्यान्वयन कागजमै सीमित देखिएको छ ।

गाउँका विभिन्न स्थानहरूमा खुलेआम कमसल मदिराको बिक्री वितरण र ओसारपसार भइरहेको व्यापक जनगुनासो बढेको छ । यस्ता मदिरा गाउँका किराना पसलदेखि मदिरा भट्टीहरूमा सजिलै पाइन्छ । बाहिरका व्यापारीहरुले गाडीमार्फत गाउँका टोलटोलमा कमसल खाले मदिरा पु¥याउने क्रम पनि रोकिएको छैन ।

मदिरामाथिको प्रतिबन्ध लागू गर्न गाउँपालिकाले प्रभावकारी कदम नचालेको स्थानीयहरूको आरोप छ । गाउँपालिकाले गत भदौ ५ गते एक विज्ञप्ति जारी गर्दै मदिरा प्रतिबन्धलाई कडाईका साथ लागू गर्ने जनाएको थियो । तर, हालसम्म कुनै ठोस कार्यान्वयनको योजना देखिएको छैन ।

पालिकाले अनुगमन तथा चेकजाँच समेत गरेको छैन । गाउँपालिकाको निर्णय व्यवहारमा लागू नहुँदा जनतामा अन्योलता र निराशा छाएको छ । चौरपाटीका स्थानीयले प्रशासन र प्रहरीलाई कारबाही प्रक्रिया सुरु गर्न आग्रह गरेका छन् ।

“हामीले पहिले यो निर्णयलाई स्वागत ग¥यौं, तर अब निराश भएका छौं । तत्काल कदम चालिएन भने स्थिति झन् बिग्रनेछ,” एक स्थानीय एकले भने । पालिकाको सो निर्णयले मदिरा सेवनकर्ता मारमा परेका छन् ।

उनीहरु सस्तो पर्ने मदिरामा महंगो रुपैयाँ तिर्न बाध्य छन् । पालिकाको सो निर्णयले यहाँ मदिरा व्यापारी मालामाल छन् भने सर्वसाधारण सेवनकर्ता मर्कामा परेका छन् । करिब २५ रुपैयाँ पर्ने कमसल खाले मदिरा (ठेउको) मा ८० देखि १२० रुपैयाँ तिरेर सेवनकर्ता किन्न बाध्य छन् ।

कमसल खाले मदिराको खुलेआम बिक्रीले समाजमा होहल्ला, झैँझगडा, अशान्तिसँगै घरेलु हिंसाका घटना पनि बढेको बताइएको छ ।

केही दिन अघि मात्रै वडा नम्बर ४ का युवाहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले समातेर जरिवाना गराएको थियो । पछिल्लो समय यस्तै घटनाहरु गाउँघरमा बढेको देख्न सकिन्छ ।

यता चौखुट्टे र सिउँडी प्रहरीले आफूले मात्रै कमसल खालको मदिरा बिक्री वितरण तथा ओसारपसारमाथिको प्रतिबन्ध कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका छन् । स्थानीय जनप्रतिनिधि, जनता र पालिकाले साथ दिए मात्रै मदिरामाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गर्न सकिने प्रहरीको भनाइ छ ।

यता चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले पनि मदिरा सम्बन्धि पालिकाकाले गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन नभएको स्वीकारे । उनले मदिराबारे गरेको निर्णय कार्यान्वनमा रहेपनि पूर्ण रुपमा लागू नभएको बताए । आफूहरु सो नियम पूर्ण रुपमा लागिरहेको उनको भनाइ छ ।

उनका अनुसार मदिरा सेवन गरेर होहल्ला गर्ने केही व्यक्तिहरुलाई कानुनी दायरामा पनि ल्याइएको छ । तर बिक्रि बितरण गर्नेलाई भने अहिलेसम्म कारबाही गिरएको छैन ।

अध्यक्ष साउँदले मदिरा प्रतिबन्धका विषयमा हिउँदे अधिवेशनपछि टोल टोलमा गएर छलफल चलाउने बताए । उनले भने, “हिउँदे अधिवेशन पुष पहिलो हप्ता छ । त्यसपछि टोल टोलमा गएर महिला, युवा, व्यापारी र राजनीतिक दलसँग छलफल गर्छु । त्यसबाट आएका धारणापछि नयाँ तरिकाले अगाडि बढ्छौँ ।”

अछिल्लो सरकारले प्रतिबन्ध लगाएको मदिरा खुलाउनु पर्ने कतिपयको माग छ । तर यसलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाउन सक्ने भन्दै अहिलेको नेतृत्वले निर्णय लिन सकेको छैन् । पालिकाभित्र कमसल खालको मदिरा बिक्रिवितरण तथा ओसारपसार गर्न पाइँदैन भने अन्य मदिरा बेलुका ५ देखि राति ९ बजेसम्म मात्रै बेच्न पाउने गाउँपालिकाको नियम छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट