धनगढी : कैलाली बहुमुखी क्याम्पसमा ३४ वर्षपछि नेपाली विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति पदमा विजय हासिल गरेको छ। बुधबार सम्पन्न निर्वाचनमा नेविसंघका उम्मेदवार सन्तोष पन्त ८२७ मत ल्याएर विजयी भएका हुन्।
पन्तका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का पवन सुनारले ५५८ मत प्राप्त गरे भने अनेरास्ववियुका यमराज जोशीले ४२७ मत ल्याए। विद्यार्थी एकता समूहकी अम्बिका चौधरीले ९२ मत र अनेरास्ववियुका सुनिलराज जोशीले ६८ मत प्राप्त गरे।
सचिव पदमा नेविसंघका ओमप्रकाश वस्ती ६९७ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका किरणप्रसाद उपाध्यायले ४९८ मत ल्याए। कोषाध्यक्ष पदमा भने अखिल (क्रान्तिकारी) का धर्मराज तिमल्सिना ४०८ मत ल्याएर विजयी भए, नेविसंघकी प्रमिला शाह ४०४ मतसहित पराजित भइन्।
सदस्य पदमा नेविसंघका राम रोकाया, सरिता भट्ट, पूजन विष्ट, जनक खड्का, देवेन्द्र धामी, बिनिता चौधरी, रामबहादुर बोगटी, पूजा ओड र गणेश दाहाल विजयी भएका छन्।
क्याम्पसमा कूल ३,५९२ मतदाता रहेकोमा २,०५७ मत खसेको थियो, जसमा ७२ मत बदर भएका थिए। सुदूरपश्चिम क्षेत्रको सबैभन्दा धेरै मतदाता भएको क्याम्पसमा नेविसंघले ३४ वर्षपछि सभापति पदमा जित हासिल गरेको हो।
यसअघि, २०४७ सालमा नेविसंघका तपराज जोशी सभापतिमा निर्वाचित भएका थिए। २०५१ सालदेखि २०७९ सालसम्मका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवारहरू निर्वाचित हुँदै आएका थिए। नेविसंघले २०५३ र २०५५ सालमा बागी उम्मेदवारमार्फत सभापति पदमा जित हासिल गरेको थियो।
यसपटकको जितले नेविसंघले क्याम्पसमा आफ्नो पुरानो विरासत पुनःस्थापित गरेको छ।
