प्रसिद्ध र पुनम बने ओभरअल च्याम्पियन, शाक्यले ३१५ केजी डेडलिफ्ट गर्दै बनाए नयाँ राष्ट्रिय कीर्तिमान

‘ब्ल्याक स्टोन क्लासिक’बाट विश्व पावरलिफ्टिङमा सहभागिताको अवसर : धनगढीमा राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, ४८ खेलाडीबीच १२ समूहमा प्रतिस्पर्धा

प्रसिद्ध र पुनम बने ओभरअल च्याम्पियन, शाक्यले ३१५ केजी डेडलिफ्ट गर्दै बनाए नयाँ राष्ट्रिय कीर्तिमान
प्रकाशित : :

धनगढी । ब्ल्याक स्टोन फिटनेस धनगढीको आयोजनामा भएको ‘ब्ल्याक स्टोन क्लासिक राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२६’ मा पुरुषतर्फ प्रसिद्ध शाक्य र महिलातर्फ पुनम चौधरी ओभरअल च्याम्पियन बनेका छन्।

शनिबार धनगढी स्थित सिद्धार्थ कटेजमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा पुरुषतर्फ प्रसिद्ध शाक्यले कुल ७८० के.जी लिफ्ट गर्दै ओभरअल उपाधि जिते भने महिलातर्फ पुनम चौधरीले कुल ३७२.५ के.जी  लिफ्ट गर्दै ओभरअल च्याम्पियनको उपाधि जितिन्। दुवै ओभरअल विजेताले जनही एक लाख रुपैयाँ नगद, ट्रफी, पदक तथा उपहार सामग्री प्राप्त गरेका छन् ।

प्रसिद्ध शाक्यले प्रतियोगितामा ३१५ केजी डेडलिफ्ट गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेका छन् । शाक्यले शनिबार आयोजित प्रतियोगितामा ३१५ किलो तौल सफलतापूर्वक डेडलिफ्ट गर्दै नेपाली पावरलिफ्टिङमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

३१५ किलो तौल उठाउँदै शाक्यले यसअघि कायम रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन्। उनको प्रदर्शन सँगै नेपाली पावरलिफ्टिङमा नयाँ मापदण्ड स्थापित भएको छ।

प्रतियोगितामा शाक्यको यो प्रदर्शनलाई नेपाली पावरलिफ्टिङका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

आयोजकका अनुसार प्रतियोगिताबाट विजेता बनेका खेलाडीले वर्ल्ड पावरलिफ्टिङमा सहभागिताको अवसर प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ खेलाडीलाई अघि बढाउने उद्देश्यसमेत प्रतियोगिताले राखेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ३३ पुरुष र १५ महिला गरी कुल ४८ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता वर्ल्ड पावरलिफ्टिङको नियम तथा मापदण्डअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा खुला पुरुषतर्फ ६, खुला महिलातर्फ ४ तथा उमेर समूहअन्तर्गत पुरुष मास्टर्स र पुरुष जुनियर्स गरी कुल १२ प्रतिस्पर्धात्मक समूह राखिएका थिए।

  • पुरुषतर्फ ६ तौल समूहमा प्रतिस्पर्धा

खुला पुरुषतर्फ ६२ केजीभन्दा मुनि, ६२ देखि ६९ केजी, ६९ देखि ७७ केजी, ७७ देखि ८५ केजी, ८५ देखि ९४ केजी र ९४ केजीभन्दा माथि गरी छ तौल समूहमा प्रतिस्पर्धा भएको थियो।

६२ केजीभन्दा मुनिको तौल समूहमा हिमाल महतले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जिते। प्रकाश कठायतले दोस्रो स्थान हासिल गर्दै रजत र क्षितिज सिंह क्षेत्रीले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे। यस समूहका स्वर्ण विजेताले ३० हजार रुपैयाँ, रजत विजेताले १५ हजार रुपैयाँ र कांस्य विजेताले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

६२ देखि ६९ केजी तौल समूहमा अनिश कुमार मुखियाले पहिलो स्थान हासिल गर्दै स्वर्ण, सिरन शाहले दोस्रो स्थान हासिल गर्दै रजत र बल बहादुर सुनार (सुजल) ले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जिते। उनीहरूले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

६९ देखि ७७ केजी तौल समूहमा रुनेश श्रेष्ठले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जिते। जेनिश भुजेलले दोस्रो स्थान हासिल गर्दै रजत तथा बिकल शाक्यले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे।

७७ देखि ८५ केजी तौल समूहमा अंकित बानियाँले पहिलो स्थान हासिल गर्दै स्वर्ण, विकास कुमार थापाले दोस्रो स्थान हासिल गर्दै रजत र चेतन कठायतले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जिते।

८५ देखि ९४ केजी तौल समूहमा डेबिड महर्जनले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जिते भने इन्द्र चौधरीले दोस्रो स्थान हासिल गर्दै रजत र बिक्रम बहादुर सयरले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे।

९४ केजीभन्दा माथिको तौल समूहमा प्रसिद्ध शाक्यले पहिलो स्थान हासिल गर्दै स्वर्ण, पंकज आलेले दोस्रो स्थान हासिल गर्दै रजत र सुयोग महर्जनले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जिते।

पुरुषतर्फका प्रत्येक तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेताले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

  • महिलातर्फ चार तौल समूहमा प्रतिस्पर्धा

खुला महिलातर्फ ५३ केजीभन्दा मुनि, ५३ देखि ५८ केजी, ५८ देखि ६४ केजी र ६४ केजीभन्दा माथि गरी चार तौल समूहमा प्रतिस्पर्धा भएको थियो।

५३ केजीभन्दा मुनिको तौल समूहमा प्रेम आचार्यले पहिलो स्थान हासिल गर्दै स्वर्ण, अस्मिता सोबले दोस्रो स्थान हासिल गर्दै रजत र उषा गौतमले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जितिन्।

५३ देखि ५८ केजी तौल समूहमा कुमारी ज्ञानी थापाले पहिलो स्थान हासिल गर्दै स्वर्ण, बिपना थापाले दोस्रो स्थान हासिल गर्दै रजत र अस्मिता मण्डलले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरिन्।

५८ देखि ६४ केजी तौल समूहमा पुनम चौधरीले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जितिन्। प्रमिसा भाटले दोस्रो स्थान हासिल गर्दै रजत र कुशम केसीले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरिन्।

६४ केजीभन्दा माथिको तौल समूहमा सन्ध्या श्रेष्ठले पहिलो स्थान हासिल गर्दै स्वर्ण, माया कुँवर बिष्टले दोस्रो स्थान हासिल गर्दै रजत र तुलमाया तामाङले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जितिन्।

महिलातर्फका प्रत्येक तौल समूहका स्वर्ण, रजत र कांस्य पदक विजेताले पनि क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन्।

  • मास्टर्स र जुनियर्सतर्फ पनि पदक

४० वर्षभन्दा माथिका खेलाडी सहभागी ओभरअल पुरुष मास्टर्स विधामा विकासकुमार थापा मगरले पहिलो स्थान हासिल गर्दै स्वर्ण पदक जिते। डा. जितेन्द्र कुमार शाहले दोस्रो स्थान हासिल गर्दै रजत र बालकृष्ण तन्दुकरले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे।

त्यस्तै, २३ वर्षभन्दा मुनिका खेलाडी सहभागी पुरुष जुनियर्स विधामा सिरन शाहले स्वर्ण, अनिश कुमार मुखियाले रजत र आकृत बानियाँले कांस्य पदक जिते।

मास्टर्स र जुनियर्स विधाका स्वर्ण, रजत र कांस्य विजेताले पनि क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

  • कुल पुरस्कार राशि १५ लाख बराबर

प्रतियोगिताका सबै पदक विजेतालाई नगद पुरस्कारसँगै पदक, ट्रफी तथा उपहार सामग्री प्रदान गरिएको छ। सहभागी सम्पूर्ण खेलाडीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

नगद पुरस्कार, पदक, ट्रफी तथा उपहार सामग्रीसहित प्रतियोगिताको कुल पुरस्कार राशि १५ लाख रुपैयाँ बराबर रहेको आयोजकले जनाएको छ।

‘प्रतियोगिता गरेर सक्नु मात्र हाम्रो उद्देश्य होइन’ ब्ल्याक स्टोन फिटनेसका सञ्चालक तथा प्रतियोगिता संयोजक ज्ञानेन्द्र राज पाण्डेले प्रतियोगिताको उद्देश्य एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर सीमित हुनु नभई सुदूरपश्चिममा पावरलिफ्टिङको दीर्घकालीन आधार निर्माण गर्नु रहेको बताए।

उनका अनुसार देशभरका खेलाडीलाई एउटै मञ्चमा जोड्नु, नयाँ प्रतिभा पहिचान गर्नु, प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउनु तथा सुदूरपश्चिमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने वातावरण निर्माण गर्नु प्रतियोगिताको मुख्य लक्ष्य हो।

“हाम्रो उद्देश्य एउटा प्रतियोगिता गरेर सक्नु मात्र होइन,” पाण्डेले भने, “सुदूरपश्चिमबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने वातावरण बनाउने, देशभरका खेलाडीलाई एउटै मञ्चमा जोड्ने र नयाँ पुस्तालाई व्यायाम तथा खेलकुदतर्फ आकर्षित गर्ने दीर्घकालीन प्रयास हो।”

उनले पावरलिफ्टिङलाई केवल तौल उठाउने प्रतिस्पर्धाका रूपमा नभई अनुशासन, शारीरिक स्वास्थ्य, मानसिक दृढता, आत्मविश्वास र सकारात्मक जीवनशैलीसँग जोडिएको खेलका रूपमा विकास गर्नुपर्ने बताए।

विशेषगरी युवालाई नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्दै लागूऔषध तथा अन्य हानिकारक कुलतबाट टाढा राख्न खेलकुदको सकारात्मक संस्कृतिलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

प्रतियोगितासँग सम्बन्धित कार्यक्रममा नेपाली फिटनेस तथा पावरलिफ्टिङ क्षेत्रका अनुभवी व्यक्तित्व, पावरलिफ्टिङ विश्व च्याम्पियन २०२५ सुकदेव कार्कीको समेत विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि ने.पा का अध्यक्ष सुन्दर भुसाल रहेका थिए।

  • अघिल्लो अनुभवबाट राष्ट्रिय प्रतियोगितासम्म

ब्ल्याक स्टोन फिटनेसले यसअघि सुदूरपश्चिममा ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ प्रतियोगिता, फारवेस्ट्स स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन’ आयोजना गरेको थियो।

अघिल्लो प्रतियोगिताबाट प्राप्त अनुभवलाई आधार बनाएर यस वर्षको राष्ट्रिय च्याम्पियनसिपलाई खेलाडी व्यवस्थापन, प्राविधिक जनशक्ति, निर्णायक, प्रतियोगिता स्थल, पुरस्कार, मेडल तथा ट्रफीलगायतका पक्षमा थप व्यवस्थित र स्तरीय बनाइएको आयोजकले जनाएको छ।

ब्ल्याक स्टोन फिटनेसले गत साउन १५ गते पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै मिति, प्रतिस्पर्धाका विधा, पुरस्कार व्यवस्था र प्रतियोगिताको उद्देश्य सार्वजनिक गरेको थियो।

  • खेल पर्यटन र फिटनेस संस्कृतिमा योगदानको अपेक्षा

आयोजकले धनगढीमा राष्ट्रियस्तरको पावरलिफ्टिङ प्रतियोगिता आयोजना हुनुले सुदूरपश्चिममा शक्ति खेलको विकाससँगै खेल पर्यटन, फिटनेस संस्कृति तथा नयाँ खेलाडी उत्पादनका लागि थप आधार निर्माण गर्ने विश्वास व्यक्त गरेको छ।

देशका विभिन्न भागबाट खेलाडी, प्रशिक्षक, निर्णायक र खेलप्रेमी धनगढीमा सहभागी हुनु स्थानीय खेल गतिविधिसँगै पर्यटन, होटल, यातायात तथा अन्य व्यावसायिक गतिविधिसँग समेत जोडिने भएकाले यस्ता प्रतियोगिताले खेल पर्यटनको सम्भावना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजकले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक, सहयोगी संस्था, प्रायोजक, सञ्चारमाध्यम, स्वयंसेवक तथा खेलप्रेमीलाई प्रतियोगिता सफल बनाउन पुर्‍याएको योगदानका लागि धन्यवाद दिएको छ।

  • यी संस्थाको रह्यो सहयोग

प्रतियोगितामा कृषि विकास बैंक, ब्रेडबक्स, अशोक फिटनेस, फ्रुट बक्स, ग्लोबल सर्जिकल, सुनाखरी रेस्टुरेन्ट, पब्लिक हेल्थ केयर फार्मेसी, होटल जियान हस्पिटालिटी, धनगढी सन, केभी, तरकारी तथा फलफूल पसल, लाइफ केयर डायग्नोस्टिक, वेस्टर्न फार्मेसी, स्ट्रिम आर्किटेक्चर, किसान ट्रेडिङ, न्यु डायमण्ड सर्जिकल, छेदुलाल चौधरी, एसएस कलेक्सन तथा फेसन वेयर, नवल अटो, सीपी अस्पताल, पुष्पाञ्जली हार्डवेयर, कर्णाली रिभरसाइड, कश्मी क्लोथिङ, ज्योति झा, केदारी बिजुली, मेङ्गो रिसोर्ट, एरिस्टो स्कुल, बेस मार्क, थ्री स्टार स्कुल, केदार फर्निसिङ हाउस, आलोक मल्टि कन्सर्न फर्निचर, निसर्ग हस्पिटल, म्याक्स टाइगर इनर्जी ड्रिङ्क, सानदार एग्रो फुड, जीवन साइन एण्ड प्रिन्ट, निहारिका मोबाइल सप र माया मेट्रो अस्पतालको सहयोग रहेको आयोजकले जनाएको छ।

यसरी सम्पन्न प्रतियोगिताबाट छनोट तथा उपाधि हासिल गरेका खेलाडीले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने अपेक्षा आयोजकले गरेको छ।

विशेषगरी आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई वर्ल्ड पावरलिफ्टिङमा सहभागिताको अवसर उपलब्ध हुनेछ।

अघिल्लो वर्ष ब्ल्याक स्टोन फिटनेस, धनगढीको आयोजनामा असोज १० गते सम्पन्न ‘ब्ल्याक स्टोन क्लासिक पावरलिफ्टिङ च्याम्पियनसिप २०८२’ मा पुरुषतर्फ आशुतोष पाण्डे र महिलातर्फ अनुष्का सुनार ‘फार–वेस्ट स्ट्रङ्गेस्ट पावरलिफ्टर’ को उपाधि जित्न सफल भएका थिए।

पुरुषतर्फ ६६ केजीमुनि तौल समूहमा आशुतोष पाण्डेले ४८७.५ केजी तौल उठाउँदै प्रथम स्थानसहित फार–वेस्ट स्ट्रङ्गेस्ट उपाधि जितेका थिए भने महिलातर्फ ५२ केजीमुनि तौल समूहमा अनुष्का सुनारले २३२.५ केजी तौल उठाउँदै प्रथम स्थानसहित फार–वेस्ट स्ट्रङ्गेस्ट उपाधि जितेकी थिइन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट