धनगढी : खेलकुद प्रवर्धन, युवा सशक्तीकरण र दुर्व्यसनमुक्त समाज निर्माणको सन्देशसहित धनगढीमा ‘कल २४ न्युज कप फुटसल टुर्नामेन्ट २०८३’ आयोजना हुने भएको छ।
कल २४ न्युजको आयोजनामा प्रतियोगिता असोज २४ र २५ गते वाल्मीकि फुटसलमा हुनेछ। पुरुष र महिला दुवै विधामा हुने प्रतियोगिताको पुरुषतर्फ विजेताले ५० हजार ५५५ र उपविजेताले ३० हजार ५५५ रुपैयाँ पाउनेछन्। महिलातर्फ विजेतालाई २२ हजार २२२ र उपविजेतालाई ११ हजार १११ रुपैयाँ प्रदान गरिनेछ।
पुरुषतर्फ ३० वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुनेछन् भने प्रत्येक टोलीले ३० वर्षमुनिका एक खेलाडी राख्न पाउनेछ। महिलातर्फ उमेर सीमा तोकिएको छैन।
विजेता तथा उपविजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसहित विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका खेल कल २४ न्युजका आधिकारिक डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछन्।





