काठमाडौं: नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई राष्ट्र बैंकसहितका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी आएको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई बैंकहरुको सिस्टम ह्याक गरि रकम लैजाने चेतावनी बुधबार आएको थियो।
नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एनएमबी, एनआसी एसिया,बैंक अफ काठमाडौं, सिटिजन, सानिमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट, हिमालयन बैंकको सिस्टम ह्याक गरेर ठूलो क्षति पुर्याउने चेतावनी इमेल र फोन मार्फत आएको हो।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले इमेल र फोनमा सानो म्यासेज आएको बताए। ‘धम्की भन्दा पनि सानो म्यासेज आएको थियो,’ प्रवक्ता ढकालले भने, ‘म्यासेज आउनासाथ हामीले राति नै सबै डेटाहरु चेक गर्यौं। त्यस्तो आतंकित हुनुपर्ने केही छैन।’
अहिले पनि आफूहरुले ‘सिस्टम’ लाई सुक्ष्मरुपमा हेरिरहेको उनको भनाइ छ। प्रवक्ता ढकालले आफूहरुलाई प्राप्त भएको सूचनाबारे बैंक र अन्य सम्बन्धित निकायलाई जानकारी दिएको बताए। ‘हामीले हिजै यसबारे बैंकहरुलाई र अन्यपक्षलाई पनि सूचना दिइसकेका छौं। उहाँहरुले पनि आफ्नो ठाउँबाट सुरक्षा अपनाउने काम गरिरहनु भएको छ। त्यसैले हल्लाहरुको पछि लाग्नुपर्ने आवश्यकता छैन’ प्रवक्ता ढकालले भने।
ह्याक गर्ने चेतावनी दिइएको म्यासेजमा ठूलो क्षति रोक्नका लागि सबै शाखा ४८ घन्टा बन्द गर्न भनिएको छ भने पत्रलाई सामान्यरुपमा नलिन चेतावनी दिइएको छ।
राष्ट्र बैंकका अधिकारीहरुलाई बैंक ह्याक गर्ने चेतावनीयुक्त म्यासेज आएको भएपनि नेपाल प्रहरीले भने आफूहरुलाई यसबारे केही जानकारी नआएको बताएको छ। नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरले अहिलेसम्म प्रहरीमा यसबारे कुनै जानकारी तथा उजुरी नआएको बताए। -नेपाललाइभ बाट