काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो ।
राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरू पनि आउने आयोजकले जनाएको छ ।
महाधिवेशनबाट पदाधिकारीमा अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जना सदस्य मतदानबाटै छानिने प्रस्ताव विधानमा राखिएको छ ।
महाधिवेशनमा ४ हजार ५ सय ६० प्रतिनिधिको सहभागिता रहने राप्रपाले जनाएको छ। संघीय संरचनाअनुसार गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेशबाट छनोट भएका प्रतिनिधि महाधिवेशनमा आउनेछन् । ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रबाट मात्रै २ हजार ९ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रधानले जानकारी दिए । एउटा प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जना प्रतिनिधि हुनेछन् । यसबाहेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेश अध्यक्षहरू पनि प्रतिनिधिको रूपमा आउनेछन् । तीन दिनसम्म चल्ने महाविधेशनको पहिलो दिन उद्घाटन सत्र सकिएलगत्तै बन्दसत्र गर्ने तालिका छ ।
निर्वाचनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरु हुनेछ । मतदाताको नामावली बुधबार नै महाधिवेशन स्थलमा टाँस्ने व्यवस्था मिलाइने महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक, पशुपतिशमशेर जबराले सामाजिक र प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नेछन् ।
त्यस्तै विधान संशोधन सुझाव समितिका संयोजक नीरञ्जन थापाले कार्य सम्पादन समितिको बैठकबाट अनुमोदन गरिएको विधान संशोधनको मस्यौदा बन्द सत्रमा पेस गर्नेछन् । ‘पहिलो दिन विधान संशोधन गरेर बिहीबारदेखि निर्वाचनको प्रक्रिया सुरु हुन्छ,’ महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले भने ।