धनगढी : जनता समाजवादी पार्टी (जसपा) को धनगढी नगर पार्टी कार्यालय उद्घाटन भएको छ । पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य तथा संगठन शुद्धिकरण अभियान सुदूरपश्चिम संयोजक दुर्गा सोपले पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । धनगढी वडा नम्बर २ को मिलनचोकमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
पार्टी कार्यालय उद्घाटन गर्दै केन्द्रिय कार्यकारिणी सदस्य सोपले अब काग्रेंस कम्युनिस्टबाट देशमा सम्बृद्धी नआउने दावी गरिन् । जनता समाजवादी पार्टी बैकल्पिक शक्तीका रुपमा उदाइरहेको दावी गर्दै उनले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी देशैभर बलियो बन्ने बताइन् ।
हाम्रो पार्टीलाई मधेशको मात्रै पार्टी हो की भन्ने सोचिन्छ, मधेशको मान्छे नेपालीनै होइनकी भन्ने हाम्रो प्रचलन छ यो मानसिकता त्याग्नुपर्छ सोपले भनिन् ‘मधेशमा जन्मेको ब्यक्तीले पार्टीको नेतृत्व गर्दैमा मधेशको मात्रै पार्टी भन्न मिल्दैन हाम्रो पार्टीमा सबै क्षेत्रको प्रतिनिधित्व छ, एमाले काग्रेंसमा मधेशको मान्छे हुँदा त्यो पार्टी मधेशी भएन अनी हाम्रो पार्टी कसरी मधेशबादी हुन्छ त ?’
कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व सांसद कृष्ण कुमार चौधरी कुन्दनले अँझै पिछिडिएको बर्गले अधिकार पाउन नसकेको दावी गरे । अध्यक्ष चौधरीले अब सबै तहको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने बताए । उनले प्रत्यक्ष राष्टपति प्रणाली ल्याएर समानुपातिक प्रतिनिधीत्व हुने किसिमको निर्वाचन भए मात्रै देशको बिकास हुने दावी गरे ।
नगर अध्यक्ष हेमराज पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका २ सय बढी नेता कार्यक्रताहरुको सहभागिता थियो ।





