धनगढी : पुस महिनाको कठ्याङ्ग्रिँदो जाडो ! रात पर्दै जाँदा दर्शकहरूको बाक्लो उपस्थितिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदान भरिँदै गयो । अगाडि स्टेजमा भने राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति पस्कँदै गर्दा माहोल झन् सङ्गीतमय बन्दै गइरहेको थियो ।
सातै प्रदेशमा ‘सप्तरङ्ग’ कार्यक्रम लिएर यही मंसिर २४ गते पूर्वको कांकडभित्ता देखि देश दौडाहामा रहेको गृष्मा ब्रोडकाष्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’ ३ कार्यक्रमले दर्शकहरूको मन तान्दै थियो । जाडोको कुनै प्रवाह नगरी गीतसङ्गीतमा युवायुवती सँगै अन्य उमेर समूहका मानिसहरू रमाइरहेका थिए ।
सोमवार साँझ प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा कलाकारले प्रस्तुति दिए । महानायक राजेश हमाल, गायक प्रमोद खरेल, रामकृष्ण ढकाल, बद्री पङ्गेनी, अनिल सिंह, रवि वड, गायिका मिलन नेवार, अस्मिता अधिकारीले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
त्यस्तै टिकटकबाट चर्चामा आएर नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेकी उषा उप्रेती र नेपाल प्रहरीको सांस्कृतिक टोलीले धनगढी निकै माहोल ततायो । यसअघि धनगढी चौराहादेखि र्यालीको आयोजना गरिएको सप्तरङ्ग–३’ को एक कार्यक्रमकाबीच धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले पानसमा बत्ती बालेर उद्घाटन गरे।
गृष्मा ब्रोडकाष्टिङले नेपाल प्रहरीसँगको साझेदारीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपूर्ण र सुरक्षित समाजको परिकल्पनालाई प्रवर्द्धन गर्ने उद्देश्यले सातै प्रदेशमा कार्यक्रमको आयोजना गरिएको आयोजक गृष्मा ब्रोडकाष्टिङका प्रमुख गृहेन्द्र घिमिरेले बताए ।
उनले धनगढीमा आयोजना भएको कार्यक्रमका लागि सहयोग गरेकोमा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडलाई धन्यवाद समेत दिए । सातै प्रदेशमा आयोजना हुने गरी २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु भएर पुस ९ गते पोखरामा समापन गरिने घिमिरेले बताए ।