अत्तरिया : सुदूरपश्चिम प्रदेश कैलालीको अत्तरिया बसपार्कमा नेपाली सेनाले आफ्नो दाबीसहितको बोर्ड राखेको छ। गोदावरी नगरपालिका–२ मा रहेको बसपार्कको बिच भागमा रहेको रुखमा तेघरीस्थित देवी दल गणले ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ भन्दै बोर्ड टाँसेको हो।
हाल बस पार्क रहेको ठाउँमा नेपाली सेनाले आफ्नो भू–भाग दाबी गरेको ठाउँमा व्यापार लागि प्रयोजन भइरहेका केही घरहरू समेत परेका छन्। उक्त जग्गा हाल गोदावरी नगरपालिकाले भोगचलन गर्दै आएको छ। अत्तरिया बसपार्क, लामी तालसहित करिब १७ हेक्टर जमिनमा सेनाले आफ्नो दाबी पेस गर्दै आएको छ।
तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्टले त्यति बेला लाखौँ रकम खर्चेर बसपार्क निर्माण गरिरहेको समयमा सेना चुपचाप बसेर अहिले आएर दाबी गर्नु उचित नभएको बताएका छन्। भट्टले अहिले सरकारमा भएको पार्टीले सो समस्या समाधान गर्नुपर्ने र स्थानीय स्तरबाट सहयोग गर्न आफूहरू तयार रहेको बताए।
देवी दल गण तेघरीका गणपति सुनिलकुमार मल्लले भने नेपाली सेनाको जमिनको विषयलाई हेर्ने छुट्टै विभाग भएकाले यताबाट खासै केही गर्न नमिल्ने बताए। ‘केन्द्रमा जमिनको विषयलाई मात्रै हेर्ने छुट्टै विभाग छ। उताबाट आएको आदेश हामीले पालना गर्ने हो’ उनले भने। जग्गा खोजी गर्ने क्रममा देखिएको ठाउँमा अहिले सूचनासहितको बोर्ड राखिएको उनले बताए।
यता गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्ट यहीँ विषयलाई लिएर काठमाडौँमा रहेको बताइएको छ। मेयर भट्टले स्थानीय राजनीतिक दलका प्रतिनिधासहित कहिदिन अघि गणपति मल्लसँग भेटघाट समेत गरेका थिए।