निर्मला हत्याकाण्डः ७६ अनुसन्धान अधिकृतको प्रयास असफल, हाल सम्म ६५५ जनासँग सोधपुछ

निर्मला हत्याकाण्डः ७६ अनुसन्धान अधिकृतको प्रयास असफल, हाल सम्म ६५५ जनासँग सोधपुछ

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा साढे ४ वर्षदेखि प्रहरी अनवरत रुपमा अनुसन्धानमा लागिरहेको छ। चार वर्षदेखि अवरत रुपमा अनुसन्धानमा खटिए पनि प्रहरीले अहिलेसम्म कुनै उपलब्धि हाँसिल गर्न सकेको छैन।

साढे चार वर्षदेखि प्रहरीको ‘घाँटीमा अड्किएको काँडा’जस्तै बनेको छ निर्मला पन्त बलात्कार र हत्या प्रकरण। गृहमन्त्रीको बागडोर सम्हालेलगत्तै रवि लामिछानेले आफ्नो पहिलो निर्णयमै सिंगो प्रहरी संगठनको छवि नै धुमिल बनाएको उक्त प्ररकण सुल्झाउन हदैसम्मको प्रयास गर्ने बताए। 

आफ्नो निर्णयको पहिलो हस्ताक्षर नै निर्मलालाई न्याय दिने उल्लेख गरेका लामिछानेले अनुसन्धानमा तिव्रता दिन प्रहरीलाई समेत निर्देशन दिए। गृहमन्त्री लामिछानेको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रहरी नायब महानिरीक्षक डीआईजी दुर्गा सिंहको नेतृत्वमा समिति नै गठन गर्‍यो। पहिलो पटक समितिमा दुई जना मनोपरामर्शदाता समेत राखिए। 

ओझेलमा परेको निर्मला प्रकरण लामिछानेको निर्देशनसँगै पुन:चर्चामा आयो। डीआईजी सिंहको टोली कञ्चनपुरमै पुगेर फेरि नयाँ सिराबाट अनुसन्धान सुरु गर्‍यो। अनुसन्धानका क्रममा पाँच जना भारतीय नागरिकको डीएनए जाँचका लागि प्रहरीले स्याम्पल समेत केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठायो। डीएनए गर्न पठाइएका भारतीय नागरिक घटना भएको बेला कञ्चनपुरमै रहेको र उक्त घटनापछि कञ्चनपुर छाडेको पाइएको प्रहरीको दाबी छ।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर डीएनए जाँचका लागि पठाइएको हो। अहिले प्रहरी उनीहरुको डीएनए रिपोर्ट कुर्दै बसेको छ। 

१२० जनाको डीएनए, २ को नतिजा आउन बाँकी
निर्मला पन्त प्रकरणमा प्रहरीले अहिलेसम्म ११८ जनाको डीएनए जाँच गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले अहिलेसम्म ११८ जनाको डीएनए जाँच गरिको बताए। 

उनका अनुसार जाँच गरिएकामध्ये ५ जनाको रिपोर्ट भने आउन बाँकी रहेको उनको भनाइ छ। रिपोर्ट आएका ११८ जनाको डीएनए निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग म्याच नखाएपछि डोडिएको थियो। 

यसअघि डीएनएबाट अपराधी पत्ता लाग्न नसक्ने भन्दै डीएनए नै त्रुटीपूर्ण होरहोइन अध्ययन गर्नका लागि डीएनएविज्ञ जीवन रिजालको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले डीएनए संकलन प्रक्रिया नै गलत भएको भन्दै डीएनएलाई मात्रै आधार नमानी म्यानुअल अनुसन्धान गर्नुपर्ने सुझाएको थियो। सोही अनुसार अहिले डीएनए र म्यानुअल दुवै अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता कमल थापाले बताए। 

७६ अनुसन्धान अधिकृतको असफल प्रयास
निर्मलाको बलात्कार र हत्या भएदेखि अहिलेसम्म नेपाल प्रहरीका ७६ जना अनुसन्धान अधिकृतले अनुसन्धान गरिसकेका छन्। हत्या भएदेखि अहिलेसम्म सीआईबी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला, प्रदेश, संघीय प्रहरी लगायत ७६ अधिकृतले उक्त घटनाको अनुसन्धान गरिसकेको प्रवक्ता टेकप्रसाद राईले बताए।

हत्या भएपछि जिल्लाको टोलीलाई टेक्निकल सहयोग गर्न भन्दै सीआईबीबाट डीएसपी अंगुर जिसीको टोली कञ्चनपुर पुगेको थियो। जिसी नेतृत्वकै टोलीले हत्यामा कञ्चनपुरकै दिलिप सिंह विष्ट संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो। डीएनए नमिलेपछि उनलाई सरकारी वकिल कार्यालयमा हाजिर जमानीमा छाडेको थियो। 

त्यसपछि विभिन्न विभाग तथा युनिटमा रहेका अब्बल भनिएका अनुसन्धान अधिकृत उक्त घटनाको अनुसन्धानका लागि कञ्चनपुर पुगे। गृहमन्त्री लामिछानेले निर्देशन दिनुभन्दा पहिला पनि सीआईबीकै इन्स्पेक्टर धनदेव साउदको टोली कञ्चनपुर पुगेर अनुसन्धान गरिरहेको थियो। अहिले भने डीआईजी दुर्गा सिंहको टोलीले अनुसन्धान गरिरहेको छ।

६५५ जनासँग सोधपुछ
निर्मला पन्तको बलात्कार र हत्यापश्चात अनुसन्धानमा खटिएका प्रहरी टोलीले अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिसकेका छन्। हत्या भएको बेला घटनास्थल वरपर हुनसक्ने, लागूऔषधमा फसेका युवाहरु, आपराधिक पृष्ठभूमिका व्यक्तिहरु, घटना भएपछि फरार भएकाहरुका निकट व्यक्तिहरु, मोबाइल लोकसेनमा घटनास्थल वरपर देखिएका व्यक्तिहरु गरी ६५५ जनासँग सोधपुछ भइसेकेको प्रवक्ता राईले बताए। 

सयौं मान्छेसँग सोधपुछ गरे पनि अहिलेसम्म हत्याराको नकिजसम्म प्रहरी पुग्न सकेको छैन। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीकै राय आपसमा बाझिदै आएकाले घटनाको गुत्थी सुल्टाउन प्रहरीले सकेको छैन। 

अनुसन्धानमा खटिएकामध्ये केही डीएनएबाट मात्रै अपराधी पत्ता लाग्ने बताउँछन् भने केही चाहिँ डीएनएलाई छाडेर म्यानुअल अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउँछन्। अनुसन्धानमा खटिका प्रहरीकै राय बाझिदा पनि अनुसन्धानमा समस्या हुने गरेको देखिन्छ।

वर्षकै चर्चित वाक्य– हामी अनुसन्धानमै छौं
२०७५ साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। उनीहरुबीच निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दूरी लगभग डेढ किलोमिटर टाढा छ। 

निर्मला १० गते रोशनीको घर पनि गइन्। त्यहाँबाट उनी घर फर्कन्छु भन्दै सवा २ बजेतिर बाहिरिएकी थिइन्।  

रोशनीको घरबाट अम्बा र किताब लिएर साइकलमा फर्किएकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन्। १० गते अपराह्नबाट खोजिएकी निर्मला अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमामृत अवस्थामा फेला पर्छिन्।

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मला बेलुकासम्म पनि नफर्केपछि आमा दुर्गादेवी पन्तले छोरी खोजिदिन भन्दै प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसको भोलिपल्ट निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला परेको थियो। 

निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा भदौ ४ गते भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह विष्ट पक्राउ परेका थिए। पछि डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले विष्टलाई छाड्न निर्देशन दिएपछि उनी छुटेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार