भक्तपुर : पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ रहेको भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिए।
उनले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताए । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताए ।
रक्तदान नहुँदा आपत्कालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताए । भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो । उनले आफ्नो एक पिन्ट रगतले अरूको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गरे।
भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर सङ्कलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिए।