टोखा चण्डेश्वरी प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको छ । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेलको पहलमा लायन्स क्लब अफ काठमाडौँले उपलब्ध गराएको ‘थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि तथा क्यान्सर चेकजाँच प्रयोगशाला’ तथा ‘ब्लड जाँच’ यन्त्र आज हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्य प्रयोगशाला बागतमी प्रदेशले आयोजना गरेको कार्यक्रममा उक्त यन्त्र कांग्रेस नेता पौडेल र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता पौडेलले प्रयोगशालाको हस्तान्तरणसँगै काठमाडौँ क्षेत्र नं ५ र छिमेकी जिल्ला नुवाकोट तथा रसुवाका जनतालाई रगत जाँच र प्रि क्यान्सर पत्ता लगाउनका लागि अन्यन्त्र जानुपर्ने झण्झट अन्त्य हुने विश्वास व्यक्त गरे । उनले भोलिका दिन क्यान्सरबाट कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिन स्थापना गरिएको उल्लेख गरे । सांसद पौडेलले आगामी दिनमा उक्त अस्पतालमा सुविधा सम्पन्न क्यान्सर स्किृनिङ ल्याब स्थापना गर्ने प्रतिवद्धता जनाए ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले कुनै पनि बिरामीले उपचारको लागि प्रादेशिक अस्पतालबाहेक अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन प्रदेश सरकार लागेको बताए । उनले सोही अवसरमा बागमती प्रदेश सरकारले १३ सामुदायिक अस्पतालमा डेङ्गु रोगको उपचारका लागि निःशुल्क व्यवस्था मिलाएको उल्लेख गरे ।
आज हस्तान्तरण गरिएका दुई यन्त्र रु एक करोड मूल्य बराबरको रहेको जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायणबहादुर कार्कीले जानकारी दिए ।