नेपालमा क्रिकेटको जग हालेका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित 

नेपाली क्रिकेटको इतिहास खोज्ने हो भने सबैभन्दा पहिला आउने नाम हो विनयराज पाण्डे ।
लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित विनयराज पाण्डे ।
प्रकाशित : :

काठमाडौं : नेपाली क्रिकेटको इतिहास खोज्ने हो भने सबैभन्दा पहिला आउने नाम हो विनयराज पाण्डे । उनले आफ्नो जीवनको ६ दशकभन्दा बढि समय क्रिकेटमै बिताएका  छन् ।

क्रिकेट खेल नेपालमा १९९७ सालबाटै सुरु भएको इतिहासबाट भेटिन्छ । २००४ सालमा त्रियोगीनाथ उप्रेतीको अध्यक्षतामा नेपालमा क्रिकेट संघ गठन भएको थियो । त्यतिबेला क्रिकेट खेल हुनेखानेले मात्र खेल्थे । तिनै व्यक्तिहरू जसले बाहिर पढ्न जाने हैसियत राख्थे । क्रिकेट खेल नै त्यस्तै छ, अरू खेलको तुलनामा महँगो । झन् ७/८ दशक अघि त आम मानिसले यो खेल खेल्न सक्ने कुरै रहेन ।

यो एलिटहरूले खेल्ने खेललाई सर्वसाधारण सम्म पुर्याउने व्यक्ति हुन् पाण्डे ।

राजा त्रिभुवनका पाला देखिका पुरोहित कुलका विनयराज पाण्डे ६० को दशकमा टुंडिखेलमा सेतो लुगा लगाएर क्रिकेटमा झुम्मिएका खेलाडी देखेर त्यसमा आकर्षित हुन पुगेका थिए ।

त्यो आकर्षण समर्पणमा परिणत हुन पुग्यो की उनले बाँकी जीवन क्रिकेटमै बिताए । उनी क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय अनवरत लागिरहे ।

१९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा बलियो संघ गठन गर्ने सल्लाह भयो । त्यसमा जयकुमार नाथ शाह अध्यक्ष रहँदा पाण्डले महासचिवको जिम्मेवारी पाए ।

सन् १९६४ देखि २००२ सम्म गरी ३८ वर्ष उनी महासचिवका  रूपमा रहे । यहि बेलादेखि तयार हुँदै गयो क्रिकेट विकासको प्रकृया।

सन् २००५ देखि २०११ सम्म पाण्डे नेपाल क्रिकेट संघको अध्यक्ष बने । त्यस्तै उनले एसियाली क्रिकेट परिषद् एसिसीको केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी निभाए ।

पछि पाण्डेले २०१४ देखि २०१६ सम्म नेपाली क्रिकेट आइसिसीको निलम्बनमा परेको बेला क्यानको नेतृत्व गरे ।

पाण्डेकै पहलमा नेपालले सन् १९९० मा आइसिसीको एसोसिएट मान्यता पनि पाएको थियो । यसका लागि १९९० मा पाण्डे सचिवको हैसियतमा दुबईमा भएको एसियाली क्रिकेट परिषद (एसिसी) बैठकमा सहभागिता जनाएका थिए ।

एसोसिएटको मान्यता पाएपछि पाण्डेले नेपालमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बनाउनुपर्ने कुरामा जोड दिए । त्यसपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) र भारतीय क्रिकेट टोलीको प्रायोजक जी टिभीको सहयोगमा सन १९९२ तिर त्रिवि क्रिकेट मैदान तयार भयो ।

तत्कालीन उपकुलपति मंगलसिद्धि मानन्धरले लिजमा यो मैदान ५ वर्षका लागि उपलब्ध गराएका थिए । यसको केही वर्षभित्रै क्रिकेट संघले भक्तपुरस्थित सैनिक आवासीय मावि, जावलाखेलको सेन्ट जेभियर्स र पुल्चोकको इन्जिनियरिङ कलेजमा पनि मैदान बनायो ।

उनको कार्यकालमा प्राप्त सफलताबीच उपलब्धिहरुको खुड्किलो चढ्दै जाने क्रममा नेपालले आज एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरिसकेको छ ।

नेपाली क्रिकेटका सारथि विनयराज पाण्डेलाई योगदानको कदर स्वरुप नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस्  अवार्डमा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई यो अवार्ड प्रदान गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार