भटना : बडादसैँको अवसरमा बैतडीका विभिन्न शक्ति पीठ तथा मन्दिरहरूमा पूजाआजाको क्रम चलिरहेको छ। बैतडीका प्रसिद्ध शक्तिपीठहरू मध्ये पुर्चौडी ४, भटनामा अवस्थित मालिका र महादेव पनि पर्छन्।
यी शक्ति पीठहरूमा असोजको नवरात्रमा हुने पूजाआजा घटस्थापनादेखि सुरु भई आज आश्विन शुक्ल पञ्चमीको रात्रिकालीन (रतेडी) जात्रासम्म मनाइने प्रधानाध्यापक हरिचन्द्र भट्टले जानकारी दिए।

मालिका र महादेव देवताको पूजाआजा गरेमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने विश्वास स्थानीय संस्कृति जानकार नरदेव भट्टले व्यक्त गरे । धार्मिक र पर्यटकीय सम्भावना रहेको मालिका महादेव मन्दिरमा चैत्र महिनाको राम नवमीको दिन पनि चैते दसैँ (दनौज जात्रा) र चैतलि भव्य मेला लाग्ने बताइएको छ।

पञ्चमी जात्राको अवधिभर जुवा तास खेल्न, लागूपदार्थ ओसारपसार, किनबेच, तथा सामाजिक सद्भाव खलबल पार्ने कार्यमा संलग्न भएकाहरूमाथि कडा कानुनी कारबाही गरिने छ।

महादेव मन्दिर व्यवस्थापन समितिको असोज २० गते बसेको बैठकपछि, यस्तो कार्य गर्नेहरूलाई ३ हजारदेखि ५ हजारसम्म जरिवाना गरिने निर्णय भएको समितिका अध्यक्ष कर्ण ब. धामी र सचिव नर बहादुर धामीले हस्ताक्षरित सूचनामा जनाइएको छ।






You must be logged in to post a comment.