धनगढी : धनगढी १२ जुगेडामा धनगढी एफ.सी यूथ एकेडेमीको उद्घाटन भएको छ । मंगलवार एक समारोहका बिच यूथ एकेडेमीको समुद्घाटन भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट र नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु (चेम्जोङ) को विशिष्ट आतिथ्यतामा धनगढी एफ.सी यूथ एकेडेमीको उद्घाटन सम्पन्न भएको छ ।
यस सँगै धनगढी एफ.सी, कैलाली जिल्ला फुटबल संघ र मनकामना युवा क्लबको त्रिपक्षीय साझेदारीमा सञ्चालन हुने धनगढी एफ.सी यूथ एकेडेमीले धनगढी उप-महानगरपालिका र समग्र सुदूरपश्चिम प्रदेशमा फुटबल प्रतिभा पहिचान र प्रवर्द्धन गर्नका लागि आधिकारिक रूपमा आफ्ना विभिन्न गतिविधिहरू सञ्चालन गर्ने छ ।
युवा फुटबल प्रतिभा पहिचान, प्रवर्द्धन र विकास गर्नको निम्ति सञ्चालनमा आएको धनगढी एफ.सी यूथ एकेडेमीले १४ वर्ष मुनि उमेर समूहका फुटबल खेलाडीहरू लाई धनगढी उप-महानगरपालिका वडा नं. १२ जुगेडा स्थित मनकामना युवा क्लबको खेल मैदानमा प्रशिक्षण समेत दिने छ ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै गो ड्रिमर्स तथा धनगढी एफ.सी. का अध्यक्ष सुवास शाहीले धनगढी एफ.सी सञ्चालनमा ल्याए देखी नै यूथ एकेडेमी हुनु पर्छ भन्ने सपना आज पुरा भएको बताउँदै सञ्चालनको निम्ति सहयोग गर्ने मनकामना युवा क्लब र कैलाली जिल्ला फुटबल संघलाई धन्यवाद ज्ञापन गरेका छन् । ‘हाम्रो ग्रासरुट स्तरबाट खेलाडी पहिचान र उत्पादन गर्नको निम्ति यूथ एकेडेमी सञ्चालन गर्ने सपना पुरा भएको छ । यहाँ बाट अब नेपाल देशको लागी खेल्ने ठुलो सपना र उद्देश्य बोक्ने अनुशासित खेलाडी उत्पादन हुने छन् ।’ उनले भने ।
साथै, शाहीले हामीले सधैँ ठुलो सपना र लक्ष देख्नु पर्ने र हाम्रा मन्त्री तथा राजनीतिज्ञहरू सबैले पनि हाम्रो जस्तै खेल क्षेत्र र खेलाडीको लागि एकै लक्ष लिएर सँगै अगाडी बढ्नु पर्ने बताउँदै सधैँ पैसा छैन भन्दै पन्छिन नपाइनेमा जोड दिए ।
यस्तै, कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले पनि गो ड्रिमर्स तथा धनगढी एफ.सी. का अध्यक्ष शाहीको भनाइमा समर्थन जनाउँदै तिनै तहका सरकाले पनि हाम्रा कार्यक्रम र सपनाहरू को अपनत्व ग्रहण गर्नु पर्ने बताउँदै २०८१ मा प्रशिक्षण वर्षका रूपमा कार्य सम्पादन गर्ने र यहाँका बालबालिकाहरू लाई अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा खेल्दै आफू सँगै देश चिनाउने खेलाडी उत्पादन गर्ने यात्रामा अघि बढेको बताए ।
आगामी दिनहरूमा धनगढी एफ.सी यूथ एकेडेमीले उदीयमान फुटबल खेलाडीहरूको पहिचान, प्रवर्द्धन र विकास गर्ने, खेलाडीहरूलाई आर्थिक सहयोग तथा शैक्षिक अवसर प्रदान गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्ने, स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य बनाउने, धनगढी एफ.सी को टिममा विभिन्न खेल खेल्न मौका दिने लगाएका कामहरू समेत गर्ने मल्लले बताए ।
त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान एवं गोलकिपर किरणकुमार लिम्बु (चेम्जोङ) ले स्थानीय स्तरमै फुटबल र फुटबल खेलाडीहरू लाई माया गरेर धनगढी एफ.सी यूथ एकेडेमी सञ्चालनमा ल्याउनु निकै नै प्रशंसनीय कार्य भएको बताउँदै यो एकेडेमी बाट आफूहरू भन्दा उत्तम नेपालबाट वल्डकप खेल्ने खेलाडीहरू उत्पादन हुनेमा विश्वास व्यक्त गर्नु का साथै आगामी लिगहरूमा धनगढी एफ.सी बाट आफूले फुटबल खेल्ने समेत बताए ।
धनगढी एफ.सी यूथ एकेडेमीको सफलताको शुभकामना व्यक्त गर्दै चेम्जोङले फुटबलमा मात्रै नभई धनगढीबाट नै देखेको सपना नेपालमै पहिलो पटक फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको थालनीको सफलता स्वरूप अहिले नेपाल प्रिमियर लिग आयोजन हुन गइरहेकोमा खुसी व्यक्त गर्दै तिनै तहको सरकार, राजनीतिज्ञ र आम अभिभावक फुटबल प्रेमीहरूमा यहाँका युवाहरूले देखेको यो सपना साकार पार्न सँगै उद्देश्यको आत्म बोध गरी अघि बढ्न आग्रह गरे ।
यसका साथै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले धनगढी एफ.सी यूथ एकेडेमीको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदको विकासले खेलाडीको प्रतिभाको पहिचान मात्रै नभई राष्ट्रको पहिचानलाई बढाउने बताउँदै यस पटक जनप्रतिनिधिहरू को प्राथमिकता र आफ्नो खेलकुद प्रतिको चासो, प्राथमिकता, खेलकुदमा आवश्यक पर्ने बजेटको वृद्धि बिचको तादम्यता मिलाउन नसकेर आवश्यक बजेट विनियोजन गर्न नसके पनि आगामी दिनमा खेल र खेलाडीहरूको हितमा काम गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार र प्रयत्नशील रहेको बताए ।
- १३ कार्तिक २०८१, मंगलवार