धनगढी : जीवनभर शिक्षण पेसामा समर्पित रहँदै समाजको उज्यालो भविष्य निर्माण गरेका गणेशबहादुर सिंह ६५ वर्षको उमेरमा पनि ज्ञानको खोजीमा सक्रिय छन्। बझाङको बुंगल नगरपालिका-६, दान्तोली घर भई हाल धनगढी उप-महानगरपालिका वडा नं. ३ विशालनगर बस्दै आएका सिंहले अहिले धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजमा कानुन विषय अध्ययन गरिरहेका छन्।
- जीवनको प्रारम्भिक यात्रा र शिक्षण पेसा :
वि.सं. २०१७ माघ ७ गते जन्मिएका सिंहले औपचारिक शिक्षाको सुरुवात वि.सं. २०२५ सालमा गरेका थिए। वि.सं. २०४१ सालमा स्थायी नियुक्ति पाएर शिक्षण पेसामा प्रवेश गरेका उनले ३६ वर्षसम्म यस क्षेत्रमा योगदान गरे । उनले वि.सं. २०५१ साल देखि २०७७ सम्म प्रधानाध्यापकको रूपमा काम गर्दै विद्यालयलाई उल्लेखनीय सुधार गरेका थिए।
- पुनः विद्यार्थी जीवनतर्फको यात्रा :
सिंहले वि.सं. २०८० मा ११ मा भर्ना भई हाल कक्षा १२ मा कानुन विषय सालदेखि एसपीए कलेजमा कानुन विषय अध्ययन गर्दै छन्। उनी भन्छन्, “स्वर्गीय हजुरबुवा कल्याण सिंह र अझै पनि जीवितै ९० वर्षीय पिता अंगबहादुर सिंह तथा ८५ वर्षीय आमा तुलनादेवी सिंहको आशीर्वाद र प्रेरणाले यो अवसर पाएको छु।”
उनी कलेज छनोटको निर्णयमा पनि दृढ छन्। एसपीए कलेजलाई अन्य कलेजभन्दा उत्कृष्ट ठहर्याउँदै उनी भन्छन्, “यहाँको अध्यापन तरिका, प्रविधिको प्रयोग र मेरो इच्छाशक्तिलाई समर्थन गर्ने वातावरणले मलाई आकर्षित गर्यो।” कलेजले उमेरलाई बाधक नभई ज्ञान आर्जनका लागि प्रेरणा दिने सिद्धान्त अंगीकार गरेकोले उनलाई प्रेरित गर्यो। यस कलेजले अघिल्लो शैक्षिक सत्रमा पनि सिंहजस्तै उमेरका व्यक्तिहरूलाई अध्ययनको अवसर प्रदान गरेर उदाहरणीय कार्य गरिसकेको छ।
- पारिवारिक जीवन र प्रेरणा
सिंहका जेठो छोरा रञ्जेल कुमार सिंह पनि स्थायी शिक्षक हुन्, बझाङकै एक विद्यालयमा शिक्षक छन्, भने कान्छा छोरा लोकेन्द्रबहादुर सिंह नेकपा एमालेका सक्रिय नेता हुन्।
- सामाजिक योगदान र सन्देश
विद्यार्थीहरूको जीवनमा उज्यालो भर्ने कार्यमा समर्पित सिंह अहिले समाजका लागि थप प्रेरणाको स्रोत बनेका छन्। उनी भन्छन्,
“ज्ञान आर्जनमा उमेरले रोक्दैन, इच्छाशक्ति मुख्य हो।”
उनको यस प्रयासले शिक्षा र समाजप्रतिको समर्पणको उदाहरणीय सन्देश प्रस्तुत गर्छ। सिकाइ र शिक्षणको यो यात्राले निरन्तर प्रेरणा दिनेछ भन्नेमा कुनै शंका छैन। गणेशबहादुर सिंहको अनवरत प्रयासलाई हाम्रो शुभकामना !