धनगढी : साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धनको लक्ष्यसहित नेपाल एडभेन्चर रनिङ्ग महासंघले खप्तडमा पहिलोपटक ट्रेल म्याराथन आयोजना गर्ने भएको छ। आउँदो जेठ महिनामा पहिलो संस्करणको म्याराथन सम्पन्न गरिने छ।
आईतबार सामाजिक विकास मन्त्री मेखराज खड्का, खेलकुद परिषद्का कार्यकारी सदस्य भानु चन्द, बोर्ड सदस्य जगत धामी तथा नेपाल एडभेन्चर रनिङ्ग महासंघका अध्यक्ष एकेन्द्र कुँवर बीच विशेष छलफल सम्पन्न भएको थियो। छलफलपछि दशहराको अवसर पारेर ट्रेल म्याराथन आयोजना गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।
नेपाल एडभेन्चर रनिङ्ग महासंघका अध्यक्ष एकेन्द्र कुँवरका अनुसार प्रतियोगिता सुदूरपश्चिम प्रदेशलाई साहसिक तथा धार्मिक पर्यटनको केन्द्र बनाउन महत्वपूर्ण साबित हुनेछ। उनका अनुसार खप्तड क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र साहसिक खेलको सम्भावनालाई उजागर गर्न यो म्याराथनको आयोजना गर्न लागिएको हो।
नेपालका विभिन्न भूभागमा ट्रेल रनिङ्गको लोकप्रियता बढ्दै गइरहेका बेला पहिलोपटक खप्तडमा हुन लागेको यो म्याराथनले स्वदेशी तथा विदेशी साहसिक खेल प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रमले खप्तड क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्यबीच दौडने अवसर, साहसिक खेल र पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र तथा पर्यटन प्रवाहलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
भने नेपाल एडभेन्चर रनिङ्ग महासंघले प्रतियोगिताबारे विस्तृत जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ।