काठमाण्डौँः नेपाल प्रहरीले भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका घटनाबारे दृश्य–प्रमाण पठाउन आम नागरिकसँग आग्रह गरेको छ। शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्रहरीले आन्दोलनका क्रममा खिचिएका तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन अनुरोध गरेको हो।
प्रहरीले भनेको छ, “उक्त मितिमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शनका क्रममा घटेका आगजनी, लुटपाट तथा त्रास सिर्जना गर्ने घटनासम्बन्धी प्रमाणहरू उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौं।” प्रहरीका अनुसार प्रमाण पठाउने व्यक्तिको गोपनीयता कायम राखिनेछ।
भदौ २३ र २४ गतेको आन्दोलन हिंसात्मक बन्दा सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालतसहितका मुख्य प्रशासनिक निकाय, सरकारी कार्यालय, पार्टी कार्यालय, निजी घर र व्यवसायिक प्रतिष्ठानमा आगजनी गरी ध्वस्त पारिएको थियो। उक्त घटनामा हालसम्म ५१ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।







You must be logged in to post a comment.