काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।
सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
प्रमुख डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए ।
प्रधानमन्त्री कार्की वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल लगायतमा पुगेर घाइतेहरूलाई हौसला र सान्त्वना दिइन् । ट्रमा सेन्टरमा एक घाइते युवकले बेडबाटै प्रधानमन्त्रीलाई शुभकामना दिए । तर, कार्कीले आफूलाई बधाई नदिन आग्रह गरिन् ।
‘मलाई अहिले कसैले पनि बधाई नदिनुहोला । मेरो कार्यकाल सफल भयो भने बधाई दिँदा हुन्छ,’ उनले भनिन् ।
ट्रमा सेन्टरको ४३१ नम्बर बेडमा रहेका घाइते युवाले भने, ‘जुन जिम्मेवारी पाउनुभएको छ, त्यो पुरा गरेर सुनौला अक्षरले नाम लेखियोस् ।’
कार्कीले जवाफ फर्काइन्, ‘मलाई कसैले बधाई नभनोस् । मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्रै भनोस् । गर्न सकिएन भने केको बधाई ।’
युवाले ३ करोड नेपालीको आमाको रूपमा लिएको बताए । कार्कीले पनि भनिन्, ‘तपाईँ पनि मेरो एउटा छोरा हो ।’
अर्का घाइते युवाले संघीयता खारेजीका लागि प्रधानमन्त्री कार्कीसँग माग गरे । ती युवाले बेडबाट उठ्न खोज्दै नमस्कार गरेपछि कार्कीले सोधिन् घर कहाँ हो ? युवकले भने सिन्धुपाल्चोक ।
कार्कीले नाम सोधेपछि उनले भने- मदन कार्की ।
‘ए… कुन कार्की ?’ आफू पनि कार्की भएकीले प्रधानमन्त्री जिज्ञासा राखिन् । युवकले भने– सुतार कार्की ।
‘के पढ्ने ?’ प्रधानमन्त्रीको अर्को जिज्ञासा ।
युवाले जवाफ दिए, ‘पढ्दै भन्दा पनि काम गर्दै हो । तर, देशका लागि लडेँ । भोलि देश केही राम्रो होला कि भनेर हो ।’
‘हामीले नसके अब तपाईँहरूले गर्नुपर्छ’ कार्कीले भनिन् ।
युवाले भने- ‘तपाईँले त हामीलाई आमाले जस्तो सल्लाह दिने हो । बाटोमा लगाउने हो । मेरो माग भनेको प्रदेश सरकार खारेज हुनुपर्यो । अनि कार्यकारी राष्ट्रप्रमुख हुनुपर्यो । ४८ सालदेखि सरकारी पद धारणा गरेकाहरुको सम्पत्ति शुद्धीकरण र राष्ट्रियकरण हुनुपर्यो ।
कार्कीले ध्यान दिएर सुने पनि कुनै जवाफ फर्काइनन् । मुन्टो मात्रै हल्लाइन् ।





