धनगढीमा एन्फा यु–१४ अन्तर विद्यालयस्तरीय महिला र पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअन्तर्गत कैलाली जिल्ला फुटबल संघले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो।
प्रतियोगिता कार्तिक १४ गतेबाट सुरु भई कार्तिक २९ गतेसम्म चल्नेछ। मैदान सम्म्याउनेदेखि सजाउने काम पूरा भइसकेको छ भने अन्य प्राविधिक तयारी पनि सम्पन्न भएको आयोजकले जनाएको छ।
यो प्रतियोगितामा जिल्लाभरका २० विद्यालय सहभागी हुनेछन्। पुरुषतर्फ १७ र महिलातर्फ ९ गरी जम्मा २६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता लिगकम नकआउट चरणमा सञ्चालन हुनेछ। मुख्य खेलहरू धनगढी रङ्गशालामा हुनेछन्।
कैलाली जिल्ला फुटबल संघका प्रशिक्षक एवं एन्फा यु-१४ अन्तर विद्यालय स्तरीय महिला र पुरुष फुटबल प्रतियोगिताका टुर्नामेन्ट कोर्डीनेटर शंकर तिरुवाका अनुसार विद्यालयहरूमा फुटबल चलिरहोस् भन्ने उद्देश्यले विजेताले ५० हजार बराबरको फुटबल खेल सामग्री पाउनेछन्।
दोस्रो र तृतीयले क्रमशः ३० हजार बराबरको खेल सामग्री पाउने छन्।
उनका अनुसार, प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुट स्तरमा प्रशिक्षण लिइरहेका बाल खेलाडीहरूलाई अवसर उपलब्ध गराउनु हो।
यो देशव्यापी रूपमा एन्फाको कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो।
“खेल खेलाउनुको मुख्य उद्देश्य भनेको ग्रासरुट लेभलमा रहेका खेलाडीहरूलाई प्लेटफर्म दिनु हो। त्यही कारण यो प्रतियोगिता देशभर एकैसाथ सञ्चालन भइरहेको छ।
कैलाली जिल्ला फुटबल संघले धनगढी रंगशालासँगै धनगढी एफसी यूथ एकेडेमी जुगेडामा र पटेला स्मार्ट क्लब लगायतका जिल्लाका विभिन्न क्लबहरू सँग सहकार्यमा ग्रासरुट स्तरका फुटबल कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
संघका अनुसार, अहिले जिल्लाभर करिब दुई हजार बाल खेलाडीहरू दैनिक फुटबल प्रशिक्षणमा संलग्न छन्। यी खेलाडीहरूलाई भविष्यका राष्ट्रिय खेलाडीका रूपमा तयार पार्ने उद्देश्य यस अभियानको रहेको आयोजकहरूको भनाइ छ।
धनगढी रङ्गशालामा सुरु हुन लागेको यो प्रतियोगिताबाट जिल्ला भित्र फुटबलको नयाँ प्रतिभा खोजी हुने अपेक्षा गरिएको छ।







You must be logged in to post a comment.