धनगढीमा १९औं सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि, तीन करोडको लगानीमा १५ करोडको कारोबार लक्ष्य

धनगढीमा १९औं सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि, तीन करोडको लगानीमा १५ करोडको कारोबार लक्ष्य
प्रकाशित : :

धनगढी । सुदूरपश्चिमको सबैभन्दा ठूलो व्यापारिक र सांस्कृतिक उत्सवको रुपमा परिचित सुदूरपश्चिम महोत्सवको १९औं संस्करण मंसिर २२ गतेदेखि सुरु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा पुस २ गतेसम्म महोत्सव चल्नेछ ।

आयोजकले आज पत्रकार सम्मेलनमार्फत मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गर्दै तयारी औपचारिक रूपमा सुरु भएको घोषणा गरेको हो । करिब तीन करोडको लागतमा आयोजना हुने महोत्सवबाट १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष पुष्करराज ओझाले जानकारी दिए ।

उनका अनुसार, महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत करिब पाँच सय स्टल रहनेछन् । तीमध्ये कृषितर्फका ४० र महिला उद्यमी, एकल महिला तथा स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निशुल्क रहने व्यवस्था गरिएको छ ।

महोत्सव अवधिभर करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । विद्यार्थी र खेलाडीका लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ भने सर्वसाधारणका लागि १०० रुपैयाँ लाग्नेछ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क प्रवेश दिने निर्णय गरिएको छ ।

अध्यक्ष ओझाका अनुसार, महोत्सवले सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग र व्यापारको विकाससँगै यहाँको कला–संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ । प्रदेशको विकासका सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्य पनि यसै महोत्सवमार्फत राखिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालमा २१ बुँदे मागपत्रसहित सुरु गरेको यो महोत्सव अहिले वार्षिक परम्पराको रूपमा स्थापित भइसकेको छ । यद्यपि, ती मागहरूमध्ये धेरैजसो अझै पूरा हुन सकेका छैनन्, जसलाई यो संस्करणमा पनि सरकारी प्रतिनिधिसामु प्रस्तुत गरिने बताइएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट