धनगढी : सुदूरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने लक्ष्यका साथ सोफान वेस्टर्न एकेडेमी (एसडब्लुए कलेज)ले आफ्नो शैक्षिक यात्रा औपचारिक रूपमा सुरु गरेको छ। काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले पहिलो चरणमा सामाजिक कार्य (बिएसडब्लु) कार्यक्रम मनोवैज्ञानिक शिक्षामा केन्द्रित गरेर सञ्चालन गरेको हो।
धनगढीमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका डिन डा. उद्दब प्याकुरेल ले सुदूरपश्चिममा गुणस्तरीय शिक्षाको नयाँ ढोका खुलेको भन्दै कलेजले प्रदेशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
कलेजका निर्देशक शैलेश सिंह का अनुसार सुदूरपश्चिमको सामाजिक, आर्थिक र मानसिक विकासका लागि दक्ष जनशक्ति आवश्यक भएकाले कलेजले सामाजिक कार्य र मनोविज्ञानलाई प्राथमिकता दिएको हो। उनले शिक्षालाई रोजगारीसँग जोड्ने र व्यावहारिक ज्ञानमा आधारित कार्यक्रम सञ्चालन गर्नु कलेजको मुख्य उद्देश्य भएको बताए।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। वक्ताहरूले काठमाडौँ विश्वविद्यालयको सम्बन्धन पाउनु सुदूरपश्चिमका विद्यार्थीहरूका लागि ठूलो अवसर भएको बताए।
कलेजले आगामी सत्रदेखि Management, IT र Journalism जस्ता अन्य विषयहरू पनि सुरु गर्ने तयारी गरेको छ। अत्याधुनिक प्रयोगशाला, अनुभवी शिक्षक समूह र अन्तरक्रियात्मक सिकाइ वातावरणका कारण SWA College प्रदेशकै ‘Emerging Center of Academic Excellence’ का रूपमा अगाडि बढ्दै गएको छ।
गुणस्तरीय उच्च शिक्षाको खोजीमा रहेका सुदूरपश्चिमका विद्यार्थीहरूका लागि सोफान वेस्टर्न एकेडेमी अब एक नयाँ गन्तव्य बनेको छ।





