धनगढी : धनगढीमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनअन्तर्गत ट्रफी टुर सम्पन्न गरिएको छ। शनिबार सुदूरपश्चिम रोयल्सको आयोजनामा गरिएको उक्त कार्यक्रम अन्तर्गत बिहान धनगढी चौराहाबाट सुरु गरिएको र्याली धनगढीको मुख्य सडक हुँदै धनगढी रंगशालामा पुगेर सम्पन्न भएको हो।
ट्रफी टुरमार्फत एनपीएलको प्रचार–प्रसार र क्रिकेटप्रति उत्साह जगाउने उद्देश्य राखिएको सुदूरपश्चिम रोयल्सले जनाएको छ।
सुदूरपश्चिमका हकमा शुक्रवार कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै चिसापानी, लम्की, बौनिया, सुखड, मसुरीया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुगेको थियो भने दोस्रो दिन धनगढीमा ट्रफी टुरको र्याली निकालिएको हो।
भने उक्त र्यालीमा सुदूरपश्चिम रोयल्सका सम्पूर्ण टिम खेलाडी, ब्राण्ड एम्बासडर एवं समर्थकहरू को विशेष उपस्थिति रहेको थियो ।

सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की खेलाडी तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ। टोलीमा ऐरीसँगै आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर गर्ने औपचारिक सुरुवातको घोषणा गरे अनुरूप यो टुर विराटनगर, मधेस प्रदेशको जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, सुर्खेत हुँदै सुदूरपश्चिमको कैलाली–कञ्चनपुर आई पुगेको हो।

सोही अवसरमा रोयल्सले धनगढी स्थित सिद्धार्थ कटेजमा अप्रान्ह ४ः३० बजे पत्रकार सम्मेलन गर्दै धनगढी स्थित धनगढी क्रिकेट एकेडेमी (डिसिए)मा २३ र २४ गते ट्यालेन्ट हन्ट गरिने जानकारी दिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण यही मङ्सिर १ देखि २७ गतेसम्म हुँदै छ। जसका लागि खेलाडी अक्सन समेत सम्पन्न भइसकेको छ। भने पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।







You must be logged in to post a comment.