कैलाली जिल्ला फुटबल संघको आयोजना र एसपीए कलेजको सहयोगमा धनगढी रंगशालामा चलिरहेको एन्फा यु–१४ अन्तर विद्यालयस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। महिलातर्फ अब कान्ति माध्यमिक विद्यालय, पहलवानपुर र दुर्गा भवानी माध्यमिक विद्यालय, हरैया उपाधि भिडन्तमा उत्रने भएका छन्।
कान्ति माविका कप्तान राधिका साउँद र दुर्गा भवानी माविका कप्तान सिता भुलको नेतृत्वमा दुवै टोलीले समूह चरणदेखि मजबूत प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।
समापन समारोहमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट प्रमुख अतिथिको रूपमा उपस्थिति रहने कैलाली जिल्ला फुटबल संघका महासचिव ललित मिश्रले जानकारी दिए। उनका अनुसार महिलातर्फको फाइनल कार्तिक २९ गते दिउँसो १ बजे र पुरुषतर्फको फाइनल ३ बजे हुनेछ।
कान्ति माविका क्याप्टेन राधिका साउँदले प्रतियोगिताले खेलाडीहरूलाई सघन अनुभव दिएको बताइन्। उनले फाइनलमा आफ्नो टोलीले थप संगठित र आत्मविश्वासी खेल प्रस्तुत गर्ने लक्ष्य रहेको उल्लेख गरिन्।
उनका सहकर्मी तथा पुरुषतर्फका कप्तान विकाश बुढाले पनि विद्यालयस्तरमै यस्ता प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको प्रतिक्रिया दिए।
उता दुर्गा भवानी माविकी कप्तान सिता भुलले फाइनलसम्मको यात्रा निकै चुनौतीपूर्ण रहेको बताइन्। उनले आफू राष्ट्रिय खेलाडी मिना देउवा, साथै साम्बा, प्रिति र रेखा जस्ता सिनियर खेलाडीहरूको मेहनत, अनुशासन र खेलकौशलबाट प्रेरित हुँदै फुटबल खेलेको बताइन्। निर्णायक खेलमा टिमवर्क र खेल भावना दुवैलाई प्राथमिकता दिने उनले स्पष्ट गरिन्।
दुर्गा भवानी माविका प्रशिक्षक तथा सैपाल युवा क्लबका कोच राजेश साउँदले बाल खेलाडीहरूले छोटो समयमै राम्रो सीप विकास गरेको बताए। उनले यस्ता प्रतियोगिताले खेलाडीहरूलाई भविष्यमा अझ ठूलो प्रतिस्पर्धाका लागि तयारी बनाउन मद्दत गर्ने बताए।
प्रतियोगिताको महिला उपाधि भिडन्तले दुई प्रतिभावान विद्यालयबीच रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। अब सबैको नजर कार्तिक २९ गते हुने फाइनलतर्फ केन्द्रित भएको छ।





