फागुन २१ मा हुने निर्वाचनमा बैतडीका पन्त को ९ नमुना सन्देश सहित उम्मेदवारी दिने घोषणा 

फागुन २१ मा हुने निर्वाचनमा बैतडीका पन्त को ९ नमुना सन्देश सहित उम्मेदवारी दिने घोषणा 
प्रकाशित : :

धनगढीः यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लाबाट जय प्रकाश पन्तले आफू भुइँमान्छे अर्थात् बहुसङ्ख्यक जनताको प्रतिनिधि पात्रका रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आफ्नो उम्मेदवारीले बैतडी मात्र होइन, देशभर नै निर्वाचन प्रणाली सुधारका लागि एक नमुना सन्देश प्रवाह गर्ने दाबी गरेका छन्।

पन्तले सार्वजनिक गरेको ९ बुँदे नमुना सन्देशमार्फत परम्परागत चुनावी अभ्यास भन्दा फरक, खर्चरहित र शान्तिपूर्ण निर्वाचनको अवधारणा अघि सारेका छन्। उनका अनुसार समाजसेवा वा राजनीतिमा सक्रिय तर आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई उम्मेदवार बन्न साहस र प्रेरणा मिलोस् भन्ने उद्देश्यले आफू चुनावी मैदानमा उत्रिन लागेको बताएका छन्।

घोषणाअनुसार पन्तको उम्मेदवारी स्वयम् उपस्थित नभई प्रस्तावक र समर्थकमार्फत दर्ता गराइनेछ। निर्वाचन अवधिभर उनी मतदाता माझ शारीरिक रूपमा उपस्थित नहुने, कुनै पनि प्रकारका सवारी साधन प्रयोग नगर्ने र भोजभतेर तथा सार्वजनिक जमघट नगर्ने प्रतिबद्धता जनाएका छन्।

त्यसै गरी पर्चा, पम्पलेट, झण्डा, ब्यानर, बोर्ड, लुगा कपडा तथा पर्खाल लेखनजस्ता प्रचार सामग्री पूर्ण रूपमा निषेध गरिने जनाइएको छ। निर्वाचन अवधिभर कसैलाई पनि उपहार, सौगात वा सम्मान नदिइने र मञ्च राखी सभा, सम्मेलन वा समारोह आयोजना नगरिने पन्तको भनाइ छ।

उनले मोबाइल, स्वतन्त्र पत्रिका, एफएम रेडियो तथा अन्य सञ्चार माध्यमलाई नै प्रचारका माध्यम मान्दै स्वयं प्रचारको साक्षी बन्ने उल्लेख गरेका छन्।

पन्तका अनुसार यस अभियानको नतिजा स्वरूप निर्वाचन प्रणाली सुधारमा बैतडी जिल्लाको नाम उदाहरणका रूपमा लिइने, साधारण नागरिक सहजै उम्मेदवार बन्न सक्ने वातावरण सिर्जना हुने, हिंसा र फिजुल खर्चमा कमी आउने तथा पूर्ण प्रजातन्त्रको अनुभूति जनस्तरमा हुने अपेक्षा गरिएको छ।

पन्तको घोषणा पत्र जस्ताको त्यस्तै,

यही फागुन २१ गते  हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन का लागि बैतडी जिल्ला बाट आफू भुइमान्छै (बहुसङ्ख्यक) जनताको प्रतिनिधि पात्र का रूपमा उम्मेदवार बन्न गइरहेको छु । मेरो उम्मेदवारी ले बैतडी जिल्लामा मात्र नभई सारा देश भरी एक महत्त्वपूर्ण नमुना सन्देश प्रवाह गर्नेछ । 

नमुना सन्देश 

१. लामो समय देखि वा तत्काल समाजसेवा, राजनीति मा सक्रिय गाउँ समाज, राष्ट्र , राष्ट्रवाशी का लागी केही योगदान गर्छौ भन्ने बिचारवान भुइमान्छै (निर्धन)हरू लाई उम्मेदवार बन्न शाहस हौसला प्रेरणा मिल्नेछ ।

२. उम्मेदवार स्वयम अनुपस्थित रही प्रस्तावक र समर्थक बाट उम्मेदवारी दर्ता गराइने छ ।

३. निर्वाचन अवधि भर उम्मेदवार स्वयम मतदाता माझ स-शरीर अनुपस्थित रहने छ ।

४. निर्वाचन अवधि भर उम्मेदवार का कुनै पनि प्रकारका सवारी साधन प्रयोग हुने छैनन् ।

५. होटेल, रेस्टुरेन्ट, मठमन्दिर, सार्वजनिक स्थल र घरमा समेत भोजभतेर का कार्यक्रम गरिने छैनन् ।

६. पर्चा ,पम्पलेट, झण्डा, बोर्ड, लुगा कपडा तुल बेनर समेत इनामेल पेन्ट बाट पर्खाल मा लेख्ने काम निषेध गरिने छ।

७. निर्वाचन अवधि भर उम्मेदवार का तर्फ बाट कहीँ कतै कसैलाई केही सौगात, उपहार, सम्मान गरिने छैन।

८. मञ्च राखी कहिकतै साना ठुला सभा समारोह सम्मेलन गरिने छैन ।

९. हामी नेपाली का हात हातमा वा घरमा रहेका मौबाएल, स्वतन्त्र पत्रिका, स्वतन्त्र एफएम, सञ्चारका अन्य साधन , समेत पार्टी का नाममा दलाली गर्दै आएका दलाल पत्रकार र मिडिया कर्मी हरू नै निर्वाचन प्रचार प्रसार का माध्यम हुनेछन्।

_______________जय सीताराम _______________

नतिजा :-

१. निर्वाचन  प्रणाली  सुधारमा बैतडीको नाम गर्व का साथ लिई उदाहरण दिइने छ ।

२. भुइमान्छै सहजै उम्मेदवार बन्न सक्ने छ ।

३.  हत्या हिंसा तोडफोड लडाई झगडा दुर्घटनामा कमी का साथै सुरक्षा खर्च कटौती हुनेछ।

४. वाहियात फिजुल खर्च कटौती हुनेछ।

५. म जस्ता हजारौँ जय प्रकाश नेपाली सन्तति हरूको बिचार भावना र सहभागिता देश र जनताका  लागि हुनेछ । यो सबै बाट पूर्ण प्रजातन्त्रको आभास जन जनले गर्न पाउने छन् ।

_______________जय सीताराम _______________

ठिक लागे बढी से बढी सेयर गर्नु हुनेछ ।।

यसमा मेरो स्वार्थ भन्दा भावी सन्तति को भविष्य रहेको छ।।          

जय जय सीताराम,  जय प्रकाश पन्त, सुनगाँउ – बैतडी

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट