चन्द्रसूर्य मैदानमा राइनोजको गर्जन, सिद्धार्थ हार्डवेयर क्रिकेट कप जित्यो

धनगढीको चन्द्रसूर्य खेलमैदान बिहीबार क्रिकेटमय बन्यो।
प्रकाशित : :

धनगढी: धनगढीको चन्द्रसूर्य खेलमैदान बुधबार क्रिकेटमय बन्यो। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा सम्पन्न प्रथम सिद्धार्थ हार्डवेयर क्रिकेट कप (टि-टेन) को फाइनलमा राजपुर राइनोजले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्यो।

संघका महासचिव धर्मराज जोशीको नेतृत्वमा रहेको राजपुर राइनोजले फाइनलमा अत्तरिया टाइटन्सलाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गर्‍यो।

टस हारेर ब्याटिङको जिम्मा पाएको राजपुर राइनोजले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै १८१ रनको विशाल योगफल तयार पार्दै राइनोजले फाइनलको रफ्तार आफ्नै पक्षमा मोड्यो।

१८२ रनको चुनौती पछ्याउन मैदानमा उत्रिएको अत्तरिया टाइटन्सलाई राजपुर राइनोजका बलरहरूले लगातार दबाबमा राखे। निर्धारित ओभर सकिँदा टाइटन्स १२० रनमै सीमित भयो र उपाधि राजपुर राइनोजको पोल्टामा पुग्यो।

उपाधिसँगै राजपुर राइनोजले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्‍यो। उपविजेता अत्तरिया टाइटन्सले नगद ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो।

प्रतियोगितामा व्यक्तिगत उत्कृष्टताले पनि चर्चा पायो। हिमाल शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए भने संघका अध्यक्ष कुबेर बहादुर शाही उत्कृष्ट बलर र भुवन बोहरा उत्कृष्ट ब्याटर चुनिए।

समापन समारोहमा प्रदेश सभा सदस्य रमेश सिंह धामी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्साल, सचिव प्रकाश चन्द, कोषाध्यक्ष तिलक बोहरा, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा लगायतले विजेता तथा उपविजेता टोलीलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरे।

समारोहमा बोल्दै प्रमुख अतिथि धामीले खेलकुदमार्फत व्यवसायीहरूबीच एकता र सहकार्यको सन्देश फैलिएको उल्लेख गरे। उनले यस्ता मैत्रीपूर्ण प्रतियोगिताले खेलकुद संस्कृतिलाई बलियो बनाउने बताए।

कार्यक्रम समापन गर्दै कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष कुबेर बहादुर शाहीले पहिलो संस्करण सफल भएको बताउँदै आगामी वर्ष अझ व्यवस्थित र स्तरीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गर्दै मैदानबाट सुरु भएको एकताको सन्देश अझ टाढासम्म पुग्ने विश्वास व्यक्त गरे।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट