धनगढी : बद्री–कुन्ता मेमोरियल जिल्ला स्तरीय यू–१६ स्मार्ट जेनेरेसन च्याम्पियनसिप २०२६ को उपाधि संघर्ष स्पोर्ट्स क्लब गोदावरीले जितेको छ। शनिबार धनगढी रंगशालामा सम्पन्न फाइनल खेलमा संघर्ष स्पोर्ट्स क्लबले सहारा युवा क्लब घोडाघोडीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
खेलको पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गर्दै संघर्षले लगातार दुई गोलका साथ जित हात पार्न सफल भएको थियो।

संघर्षका जर्सी नम्बर १६ का आदित्य बडुवाल उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए।
कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा पौष १८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका १२ स्थानीय तहका टोलीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको विजेता संघर्ष स्पोर्ट्स क्लबले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सहारा युवा क्लब घोडाघोडीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
साथै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको प्रतियोगिता निर्देशक हर्क दानपालिले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावत,विशिष्ट अतिथि सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का,कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल र बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक अध्यक्ष कमला जोशी,सदस्य गोकर्ण जोशी लगायतले संयुक्त रूपमा ट्रफी,मेडल तथा चेक हस्तान्तरण गरे ।













You must be logged in to post a comment.