बैतडी । बैतडीको पाटन नगरपालिका–८ साडीघाँटी स्थित जयपृथ्वी राजमार्गमा आज सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
आज मिति २०८२/०९/२८ गते बिहान करिब १०:३० बजेको समयमा मोतिनगर बैतडीबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २५० देखि ३०० मिटर तल खसेर दुर्घटना भएको हो। जिप जिल्ला बैतडी सिगास गाउँपालिका–१ दुधिलाखान निवासी अन्दाजी २८/३० वर्षका गणेश बिष्टले चलाएका थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोड्पे बैतडीबाट प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको कमाण्डमा पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। जिपमा सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका छ जनाको उद्धार गरी डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा १० जनाको टोली खटिएको प्रहरीले जानकारी दिएको छ।














