डेरी एशोसिएसनमा सुदूरपश्चिम उत्कृष्ट घोषित, उपाध्यक्ष सहित चार जना केन्द्रीय कमिटीमा

डेरी एशोसिएसनमा सुदूरपश्चिम उत्कृष्ट घोषित, उपाध्यक्ष सहित चार जना केन्द्रीय कमिटीमा
प्रकाशित : :

धनगढी : नेपाल डेरी एशोसिएसन (NDA) को २७औं वार्षिक साधारण सभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय चुनावी महाधिवेशन काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९, शंखुस्थित रैथाने भिल्लामा सम्पन्न भएको छ। सो अवसरमा एशोसिएसनको समग्र मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश “उत्कृष्ट प्रदेश” घोषित भएको छ।

कार्यक्रम वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। मन्त्री पौडेलले पशुपालन र कृषि नै नेपालको अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै उत्पादनमुखी नीति, कृषक–व्यवसायी र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए। उत्पादन घट्दै जानु र आयात बढ्दै जानु चुनौतीका रूपमा रहेको भन्दै त्यसको समाधानमा प्रदेश र संघीय सरकार मिलेर अघि बढ्नुपर्ने धारणा राखे।

नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्रको वर्तमान अवस्था, कृषक र व्यवसायीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे जानकारी गराए। उनले प्रदेशगत रूपमा सुदूरपश्चिमले देखाएको सक्रियता, संगठनात्मक मजबुती र परिणाममुखी कामकै कारण उत्कृष्ट प्रदेशको मान्यता प्राप्त भएको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेतलगायतले दुग्ध क्षेत्रको दिगो विकासका लागि नीति स्थायित्व, अनुदानको प्रभावकारी उपयोग र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

सोही महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा कर्ण बहादुर हमाल निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरूमा प्रेम बहादुर धामी, गणेश बिष्ट र प्रकाश सामन्त चयन भएका छन्। यसले सुदूरपश्चिम प्रदेशको राष्ट्रिय तहमा प्रतिनिधित्व र भूमिका अझ बलियो भएको छ।

प्रदेश टिमको सामूहिक प्रयास, अनुशासित कार्यशैली र दीर्घकालीन सोचकै परिणामस्वरूप सुदूरपश्चिम प्रदेश नेपाल डेरी एशोसिएसनभित्र उत्कृष्ट प्रदेशको रूपमा स्थापित भएको सहभागीहरूको भनाइ छ। कार्यक्रमका क्रममा विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट