बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा महादेव माध्यमिक विद्यालय सिवावोले सर्वाधिक २४ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल २८ पदक जित्दै उपाधि हासिल गरेको छ।
वडा नम्बर–१ स्थित त्रिवेणी धाम कमल विशाल पार्कमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिता आज औपचारिक रूपमा समापन गरिएको हो। यस प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
विगतका वर्षहरूमा लगातार तीन पटकसम्म शिल्ड आफ्नो कब्जामा पारेर दबदबा कायम राखेको डिलेश्वरी नमूना माध्यमिक विद्यालय हाटले यसपटक भने ४ स्वर्ण, ११ रजत र ८ कास्य गरी २३ पदकका साथ दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो।
त्यस्तै, भूमिराज माध्यमिक विद्यालय कुवाकोटले ३ स्वर्ण, ८ रजत र १० कास्य गरी कुल २१ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। मालिका माध्यमिक विद्यालय भटनाले २ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल १० पदकसहित सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रतियोगिताको समापन समारोह पुर्चौडी नगरपालिका नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा नगर प्रमुख दीपक बहादुर बम प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
आयोजक तथा सहभागीहरूका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।











