धनगढी : आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सुदूरपश्चिमभर चुनावी अभियानलाई तीब्र बनाएको छ ।
सो अभियानका क्रममा नेकपा एमाले रामारोशन गाउँपालिका वडा नं. ५ को वडा कमिटीको बैठकले मंगलबार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवार दिपक बहादुर साउँदलाई बहुमतले विजयी गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
बैठकले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन मतदाता भेटघाट, प्रचारप्रसार अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । वडा कमिटी अध्यक्ष शेरबहादुर साउँदका अनुसार बैठकले एक हप्ताभित्र वडा स्तरीय निर्वाचन परिचालन समिति, प्रचारप्रसार समिति तथा नेशनल भोलेन्टियर फोर्स गठन गर्ने निर्णय गरेको छ ।
वडा कमिटी अध्यक्ष साउँदको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी प्रमुख अतिथि रहनु भएको थियो भने अछाम क्षेत्र नं. १ का उम्मेदवार दिपक बहादुर साउँद विशिष्ट अतिथि रहनु भएको थियो ।
बैठकमा जिल्ला सचिव हिरेन्द्र भट्टराई, युवा नेता गोविन्द साउँद, महाधिवेशन प्रतिनिधि परिषद सदस्य डिबी साउँद, जिल्ला कमिटी सदस्य, गाउँ कमिटी अध्यक्ष भीष्म साउँद वडा कमिटी पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का २१ वटै वडामा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा आएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले निर्वाचन क्षेत्र नम्बर ५ का कैलारी गाउँपालिकाका २ र धनगढी उपमहानगरपालिकाका १९ गरी २१ वटै वडामा सम्पर्क कार्यालय खोलेर चुनावी प्रचार तीव्र बनाइने बताए ।
उम्मेदवार र पार्टीका नेता कार्यकर्ता सबै मतदाताको घरमा पुग्नका लागि सम्पर्क कार्यालय खोलेर प्रचार कार्यलाई थप व्यवस्थित र प्रभावरी बनाएर घरदैलो अभियान सञ्चालन गरिने उनले बताए ।
निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने २१ वटै वडामा सम्पर्क कार्यालयसँगै उम्मेदवार यज्ञराज ढुंगाना, नेता तथा कार्यकता र जनताबीच परिचयात्मक काम पनि पहिलो चरणमा सम्पन्न भएको चन्दको भनाइ छ । उनले निर्वाचनलाई लक्षित गरी कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका उम्मेदवारलाई विजयी गराउन अब पार्टीका विभिन्न मोर्चाका बैंठक बसी अन्य तयारी अघि बढाउँदै लगिने बताए ।
एमाले क्षेत्र नम्बर ५ का निर्वाचन कमाण्डर सम्हालेका नारदमुनि रानाले एमालेको राष्ट्र र राष्ट्रियताका लागि लिएको अडान, देश विकासमा खेलेको भूमिका रहेकोले मतदाताले एमालेका उम्मेदवारलाई जिताउनेमा आफू ढुक्क भएको बताए ।
यसैगरी एमाले प्रदेश किमटीका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा एमालेका तर्फबाट बनेका उम्मेदवारले निर्वाचन लक्षित विभिन्न क्रियाकलापलाई ब्यापक रुपमा अघि बढाउँदै लगेका छन् । केन्द्रीय नेतृत्वको प्रत्यक्ष निगरानीमा प्रदेश, जिल्ला, पालिका, वडा हुँदै टोलसम्म संगठनलाई सक्रिय बनाउँदै घरदैलो, जनसंवाद तथा प्रचारप्रसारलाई व्यापक बनाएको छ ।
मंगलबार मात्रै दार्चुलाबाट उम्मेदवार बनेका एमाले केन्द्रिय सदस्य तथा सुदूरपश्चिम संयोजक गणेश ठगुन्ना ब्यास गाउँपालिका–४ सुनसेरामा जनतासँगै प्रत्यक्ष भेटघाटन गरेका छन् । केन्द्रिय सदस्य एवम् पूर्ब मन्त्री दामोदर भण्डारी बैतडीको पञ्चेश्वर गाउँपालिका, बाजुराका उम्मेदवार लालबहादुर थापा बडीमालिका स्तरीय चुनाव केन्द्रीत अगुवा कार्यकर्तामा व्यस्त रहेका थिए । यस्तै नेकपा एमाले बोगटान फुड्सिल गाउँपालिका कमिटीको बैंठक तथा निर्वाचन केन्द्रीत उम्मेदवार दीपक धामी सहितको उपस्थितीमा मतदाता भेटघाटन तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी कैलाली क्षेत्र नम्बर ४ स्थित चुरे गाउँपालिकाको गर्भामा एमाले उम्मेदवार तथा उपमहासचिव लेखराज भट्टले मतदाता भेटघाट गरेका छन् ।






