धनगढी: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को पहिलो राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एक्यान सेन्ट्रलले जितेको छ। धनगढीस्थित चन्द्रसूर्य खेलमैदानमा शनिवार सम्पन्न फाइनल खेलमा एक्यान सेन्ट्रलले एक्यान बाँकेलाई १०४ रनको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।

एक्यान कैलालीको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा एक्यान सेन्ट्रल, रुपन्देही, बाँके र आयोजक कैलाली गरी चार टिम सहभागी थिए।

२० ओभरको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको एक्यान सेन्ट्रलले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रनको बलियो योगफल तयार गर्यो। एक्यान सेन्ट्रलका लागि सुशील अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ७५ रन बनाए। भने सोहन गिरीले १९ बलमा २६ रन र अशोक रायले १५ बलमा २३ रन बनाउँदै राम्रो साथ दिए।
१८८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको बाँकेले एक्यान सेन्ट्रलको कडा बलिङ आक्रमण अगाडि टिक्न सकेन। बाँकेले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ८३ रन जोड्न सक्यो। बाँकेका लागि शिशिर के.सी.ले सर्वाधिक ३० बलमा २१ रन बनाए भने प्रभात खड्काले १९ बलमा १२ रन जोडे।

एक्यान सेन्ट्रलका बलरहरूले फाइनलमा प्रभावशाली प्रदर्शन गरे। अंकित अधिकारीले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। सुब्रत सापकोटाले १९ रन दिएर २ विकेट लिँदा सौरभ पन्तले ३ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट झारे।

यसअघि लिग चरण अन्तरगत १५ ओभरका खेलहरूमा पनि एक्यान सेन्ट्रलले सशक्त प्रदर्शन गरेको थियो। लिग चरणको दोस्रो खेलमा एक्यान सेन्ट्रलले रुपन्देहीलाई ३१ रनले, तेस्रो खेलमा बाँकेलाई १० विकेटले र पाँचौँ खेलमा कैलाली (सुप)लाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
फाइनल जितसँगै एक्यान सेन्ट्रलले प्रतियोगिताभरि निरन्तर र सन्तुलित प्रदर्शन गर्दै आफूलाई प्रतियोगिताको सबैभन्दा बलियो टोलीका रूपमा प्रमाणित गरेको छ।
भने प्रतियोगिताका विजेता टोलीले नगद एक लाख ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्रका साथै उपविजेता टोलीले ७० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा २४ रनले एक्यान कैलाली (सुप)लाई बाँकेले २४ रनको अन्तरले हराएको थियो । चौथो खेलमा एक्यान रुपन्देही लाई टिम कैलाली (सुप) २ रनले जित्न सफल भएको थियो भने प्रतियोगिताको छैटौँ खेलमा एक्यान बाँकेले रुपन्देही विरुद्ध ६ विकेटको जित निकालेको थियो ।
प्रतियोगिताले चार्टर्ड एकाउन्टेन्टहरूको सक्रिय सहभागिता, आपसी समन्वय र पेसागत भूमिकालाई खेलकुदको माध्यमबाट उजागर गर्न सफल प्रतियोगिताको दोस्रो सिजन एक्यान रुपन्देहीले आयोजना गर्ने समेत घोषण गरेको छ ।
आर्थिक पारदर्शिता, सुशासन र राष्ट्र निर्माणमा सिएहरूको भूमिकालाई समाजसम्म पुर्याउने उद्देश्य बोकेको प्रतियोगिताको समापन समारोहमा धनगढी उप-महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज बहादुर ऐर प्रमुख अतिथिका रूपमा रहेका थिए ।
यसका साथै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ सुदूरपश्चिम प्रदेश प्रमुख सिए उमेश घिमिरेले यस ऐतिहासिक थालनीलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी, सहभागी टिम एवं प्रायोजक संघ संस्था कैलाली जिल्ला क्रिकेट संघ सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।










You must be logged in to post a comment.