मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत चौथो खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेको छ। यसअघि सन् २०१४ मा Bangladesh मा भएको संस्करणमा नेपालले जित निकालेको थियो।
१७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। दीपेन्द्र सिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्याए। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन जोडे। ९८–३ को अवस्थाबाट दीपेन्द्र र गुल्सन झाले इनिङ्स सम्हाल्दै अन्त्यसम्म उत्कृष्ट साझेदारी गरे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लगातार दोस्रो अर्धशतक बनाए भने गुल्सन २४ रनमा अविजित रहे।
यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रन बनाए भने जर्ज मुन्सेले २७ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए र टी२० विश्वकपमा नेपालका सर्वाधिक विकेट लिने खेलाडी बने। नन्दन यादवले २ विकेट हात पारे।
समूह चरणबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा प्रतिष्ठाका लागि जित निकाल्दै सुखद अन्त्य गरेको हो।








