कैलाली: नवजीवन सहकारी संस्था लिमिटेडले आफ्नो ३२औं वार्षिक साधारणसभा अन्तर्गत हुने निर्वाचनका लागि विभिन्न पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार व्यवस्थापन समिति अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा लेखा सुपरीवेक्षण समितिका विभिन्न पदहरूमा उम्मेदवारी दर्ता गराएका व्यक्तिहरूको नामावली प्रकाशन गरिएको हो।
सार्वजनिक नामावलीअनुसार व्यवस्थापन समिति अध्यक्ष पदका लागि केशवराज मिश्र, गोपालराज पाठक, धनबहादुर शाह र चेतराज ओझा प्रतिस्पर्धामा रहेका छन्। उपाध्यक्ष पदमा इन्द्रप्रसाद जोशी, उत्तम जोशी र उपेन्द्र बिष्ट उम्मेदवार छन्।
त्यसैगरी सदस्य पदमा विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै ठूलो संख्यामा उम्मेदवारहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा गणेशप्रसाद जोशी, चेतराज जोशी, शिवकुमार जोशीलगायतका नाम समावेश छन्।
लेखा सुपरीवेक्षण समिति संयोजक पदका लागि गणेशप्रसाद जोशी र चेतराज जोशी उम्मेदवार बनेका छन् भने सदस्य पदमा खेमराज पाठक, गणेशप्रसाद उपाध्याय, टेकराज जोशी र दिलिप रोकाय क्षेत्री प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन समितिले तोकिएको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जनाएको छ। सहकारीको नयाँ नेतृत्व चयनका लागि हुने यस निर्वाचनप्रति सदस्यहरूको चासो बढ्दो देखिएको छ।





