#Champions36 अभियानको मैदानमा कार्यान्वयन: ऐश्वर्यका छात्र-छात्राबाट क्रिकेट अभ्यासको थालनी

सुदूरपश्चिमको धनगढीमा ‘#Champions36 : ग्रासरुट टु ग्लोरी’ नामक दीर्घकालीन क्रिकेट विकास अभियान अन्तर्गत नियमित अभ्यास सुरु गरिएको छ।
प्रकाशित : :

धनगढी । सुदूरपश्चिमको धनगढीमा ‘#Champions36 : ग्रासरुट टु ग्लोरी’ नामक दीर्घकालीन क्रिकेट विकास अभियान अन्तर्गत नियमित अभ्यास सुरु गरिएको छ।

धनगढी उपमहानगरपालिका र गो ड्रिमर्सद्वारा सञ्चालित धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम, ऐश्वर्य विद्या निकेतन र गो ड्रिमर्सको सहकार्यमा गत फागुनमा घोषणा गरिएको यस अभियान अन्तर्गत सोमबार देखी अभ्यास थालिएको हो।

‘क्रिकेटको सहर’ धनगढीबाट सुरु भएको यस अभियानले आगामी सन् २०३६ सम्म नेपाललाई टी–२० विश्वकप क्रिकेटको उपाधि दिलाउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ।

अभियानको सुरुवाती चरणमै गो ड्रिमर्स र ऐश्वर्य विद्या निकेतनबिच १० वर्षे रणनीतिक सहकार्यको सम्झौता गत फागुनमै भइसकेको थियो।

सोही लक्ष्य प्राप्तिका लागि सोमबार देखि कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययनरत छात्र–छात्राहरूलाई यस अभियान अन्तर्गत अभ्यासको अवसर दिइने ऐश्वर्य विद्या निकेतनका पूर्व विद्यार्थी तथा प्राचार्य सञ्जय पन्तले जानकारी दिए।

प्राचार्य पन्तले आधारभूत तहबाटै प्रतिभाशाली युवा क्रिकेट खेलाडी उत्पादन गरी सन् २०३६ सम्म नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र विश्व स्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको बताए।

यस्तै, धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रमका संयोजक (कोर्डिनेटर) विक्रम भट्टले हाल यो अभियान ऐश्वर्य विद्या निकेतनबाट सुरु भएको र आगामी दिनहरूमा धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा विस्तार गरिने बताए। उनले आगामी १० वर्षभित्र विश्वकप जित्ने गरी खेलाडीहरूलाई तयार पारिने र सोही अनुसार अभ्यास गराइने उल्लेख गरे।

अभियानमा सहभागी ऐश्वर्य विद्या निकेतनमा अध्ययनरत छात्रा आभ्या जोशी र मिस्ता भण्डारीले आफूहरूको सपना क्रिकेटर बन्ने र देशका लागि विश्वकप जित्ने रहेको सुनाए।

त्यस्तै, सोही विद्यालयका छात्र हर्षित जोशीले नेपालले विश्वकप हारिरहेको परीपेक्षमा विश्वकप जितोस् भन्ने आफ्नो चाहना रहेको र त्यसका लागी आफू स्वयं मैदानमा उत्रिएर देशलाई ट्रफी दिलाउन क्रिकेटर बन्न लागेको बताए।

‘#Champions36 : ग्रासरुट टु ग्लोरी’ अभियान अन्तर्गत विद्यालय तथा समुदाय स्तरबाट क्रिकेट प्रतिभाहरूको खोजी तथा छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।

प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूलाई नियमित अभ्यास गराउने र अन्तर-विद्यालय स्तरीय प्रतियोगिताहरूमा समावेश गराउँदै आगामी १० वर्षभित्र विश्वकप विजेता क्रिकेटरका रूपमा तयार पार्ने यस अभियानको मुख्य उद्देश्य रहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट