काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
चिनियाँ राजदूत झाङ माओमिङसँग भएको भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।
त्यसैगरी, भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा कुराकानी भएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले चीन र भारत दुवै छिमेकी मुलुकहरूसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभयो।
दुवै देशका राजदूतहरूले प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आ-आफ्नो देश र नेपालबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभएको छ।





