धनगढी: प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गरी अस्थायी प्रहरी पोष्ट धनगढी वडा नं. १२, जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको आरोप स्वीकार गरेका उनीहरूलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल रानालाई सार्वजनिक गरेको जनाए । उनीहरूले हत्याको आरोप स्वीकार गरेको प्रहरी नायव उपरीक्षक विष्टले जनाए ।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि लाठी र कोदालोले आक्रमण गरी हत्या गरेको स्वीकारेको प्रहरीले दावी गरेको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको प्रहरी नायव उपरीक्षक विष्टले जनाए ।
शनिबार राती नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदको हत्या भएको थियो । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा फोन नलागेपछि बिहानसम्म प्रतिक्षा गरेको र नआएपछि खोजी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक बिकको शब र उनीहरूले गस्तीमा जाँदा प्रयोग गरेको मोटरसाइकल आइतबार बिहानै मोहना नदीको किनारमा फेला परेको थियो भने प्रहरी जवान साउँदको शब प्रहरीले मोहना नदीको मझधारमा गाडिएको फेला पारेर मंगलबार नै झिकेको छ ।