बैतडीमा बजार अनुगमनको प्रभाव, एक महिनामा करीव आठ लाखको अखाद्य वस्तु बरामद

प्रकाशित : :

बैतडीः एक महिनामा बैतडीमा करीव आठ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा सात लाख ७० हजारभन्दा बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो । असोज पहिलोदेखि अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए ।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा चाउचाउ, बियर, पीठो, नम्किनलगायत वस्तु म्याद गुज्रेका पाइएका उनले बताए । उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेका लेखकले जानकारी दिए ।

उनले भने, “म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरुले हेर्ने गरेका छन्, न उपभोक्ताले नै । यसले गर्दा बजारमा म्याद नाघेका सामग्री बिक्री वितरण भइरहेका छन् ।” बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन् ।

निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाडौँका शिक्षक तिलक बोहराले बताए । उनले भने, “पसलबाट किन्ने सामग्रीको म्याद भए÷नभएको बारेमा उपभोक्ताहरु पनि सचेत हुनु जरुरी रहेको छ ।”

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट