महेन्द्रनगर, कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ का दलहबहादुर बोहरा पुर्व–पश्चिम राजमार्गको बनहरा पुल छेउको बस्तीमा बसोवास गरिरहेका छन् ।
आफूसित सम्पतिका नाममा परिवार मात्रै भएपछि टहरा बनाएर राजमार्ग छेउमा सुकुम्बासी जीवन बिताइरहेका बोहराले स्थायी बसोवास नुहँदा निकै सास्ती झेल्नु परेको दुखेसो पोखे । २०६२ सालदेखि टहरामा बस्दै आएका बोहराले हिउँदमा भने नबनहरा पुलमुनि वास बसिरहेका छन् । “सुकुम्बासी बस्ती त नामको मात्रै हो”, उनले भने, “वर्षातमा बाढीको डर हुन्छ, अरु समय हाम्रो बास पुलमुनि नै हुन्छ ।”
मुलुकको व्यवस्था परिर्वतन भएर गाउँ गाउँमा सिंहदरबार आएपनि आफूहरु ओत लाग्न पुलमुनि वास बस्नु परेको उनले बताए । “राजमार्गमा दैनिक झण्डावाल गाडीहरु गुडिरहेको देख्छौं”, उनले भने, “ ती गाडीभित्रका ठुलाबडाहरु हामीलाई देखे नदेखे झैँ गर्छन ।” विगतमा मजदूरी गरेर जिविका चलाउने गरेका सुकुम्बासीहरु कोरोना कहरपछि मजदुर पाउन गाह्रो भएपछि परिवारको खर्च टार्न मुश्किल परिरहेको दुखेसो पोख्छन् ।
“कोरोना आएपछि त पेट पाल्न पनि धौ धौ हुने स्थिति आयो”, उनले भने, “ विपन्नका नाममा राहत बाडिएको सुनियो तर हाम्रो बस्तीमा पुगेन ।” उक्त सुकुम्बासी बस्तीमा २६ परिवारको बसोवास रहेको छ । सोह्र बर्षदेखि सुकुम्बासी बस्तीमा आफूहरु बसोबास गरिरहेको भएपनि अझै पुर्नस्थापनाको कुनै सुरसार कहिँबाट नरहेको उनीहरुको गुनासो छ ।
“वस्तीमा जंगली हात्ती आएर भएको अन्नपात समेत नष्ट गरेर जान्छ, तर स्थानीय निकायबाट कुनै सहयोग मिल्दैन”, बोहराले भने, “ बस्ती पुर्नस्थापनाका लागि धेरै पटक सरोकारवाला निकाय गुहार गरेपनि सुनुवाइ भएन ।” त्यसैगरी वस्तीकी कलमती दमाईले पनि सुरक्षित बसोबास होला भन्ने आशमा वर्षै बितिसकेको बताईन् । “सुरक्षित आवास नहुँदा पुल मुनि रात काट्नु पर्ने बाध्यता भएको छ”, उनले भनिन्, “ परिवार ठूलो हुँदा व्यवस्थापन झन् कठिन भयो ।”
सुकुम्बासी वस्तीमा रहेका विद्यालय समेत जादैनन् । बस्तीका बालबालिकाहरु पनि बसोबास उचित नहुँदा जोखिममा रहेको कलावतीको भनाइ छ । बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका पर्छ । स्थानीय मथुरादेवी सार्कीले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गरिँदै आएपनि वस्तीका हकमा भने लागू नभएको बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण पनि बस्तीका बालबालिकाहरुले पढ्न सक्ने अवस्था छैन । “सुकुम्बासीका नाममा धेरै नेता भए, धेरैले आफ्नो अवस्था सुधार गरेपनि वास्तविक सुकुम्बासी अझै समस्यामै छन्”, उनले भने, “वस्तीका धेरै बालबालिकाहरुले अझै विद्यालय देख्न पाएका छैनन् ।”