४३ प्रयासपछि युभेन्टसका लागि रोनाल्डोको पहिलो फ्रिकिक गोल

क्रिस्टियानो रोनाल्डोले ४३ पटकको प्रयासपछि युभेन्टसका फ्रिकिकबाट पहिलो गोल गरेका छन् । योसँगै रोनाल्डो क्लबका लागि इटालियन सिरिए ए मा एकै सिजनमा २५ गोल गर्ने सन् १९६१ पछि पहिलो खेलाडी बनेका छन् । 

शनिबार भएको टुरिन डर्बीमा युभेन्टसले टोरिनोलाई ४–१ गोल अन्तरले पराजित गर्यो । खेलको तेस्रो मिनेटमा नै पाउलो डिबालाले युभेलाई अग्रता दिलाएका थिए भने हुवान क्वाड्राडोले २९ औँ मिनेटमा अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा एन्ड्रेया बेलोटीलाई पेनाल्टीबाट टोरिनोका लागि एक गोल फर्काए ।

दोस्रो हाफमा रोनाल्डोले फ्रिकिकबाट गोल गर्दै युभेको अग्रता पुनः फराकिलो बनाए । क्लब स्तरमा उनको यो ४६ औँ फ्रिकिक गोल हो । उनले यसअघि रियल म्याड्रिडका लागि ३२ तथा म्यान्चेस्टर युनाइटेडका लागि १३ गोल गरेका थिए । उनी सन् १९६१ पछि सिरिए ए को एउटै सिजनमा युभेन्टसका लागि २५ गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । युभेन्टसले चौथो गोल आत्मघाती गोलका रुपमा उपहार पाएको थियो ।

त्यस्तै, जियानलुइजी बुफोनले लिगमा कीर्तिमानी ६ सय ४८ औँ खेल खेलेका छन् । उनले पाउलो माल्दिनीको कीर्तिमानलाई भंग गरेका हुन् । गत सिजन पेरिस सेन्ट जर्मेनका लागि लिग वानमा १७ खेल खेलेका उनले युरोपको शीर्ष ५ लिगमा कीर्तिमानी ६६५ खेल खेलेका छन् । 

लगातार सातौँ लिग उपाधि जित्ने होडमा रहेको युभेन्टसले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । ३० खेलपछि युभेन्टसको ७५ अंक रहेको छ ।

दोस्रो स्थानमा रहेको लाजियो एसी मिलानसँग ३–० ले स्तब्ध बन्यो । लाजियोको ३० खेलबाट ६८ अंक रहेको छ । एसी मिलान छैटौँ स्थानमा उक्लिएको छ ।

रातोपाटी बाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार