पाटन विमानस्थल उद्धघाटन पछिको बैतडीको भविस्य !

पाटन विमानस्थल उद्धघाटन पछिको बैतडीको भविस्य
हिजो अस्ती मात्रै बैतडी जिल्लाको मुटु  पाटनमा अबस्थित हालसालै   पुुन:निर्माण सम्पन्न गरिएको विमानस्थलको    पर्यटन तथा नागरिक  उड्यन मन्त्री योगेश भटराइद्वारा सफल  परिक्षण उडान  तथा समुद्घाटन कार्यक्रम सफल भएको छ ।  बैतडी पाटन विमानस्थलको सफल  परिक्षण उडान सहित  भएको उद्घाटनले केबल बैतडीबासी मात्रै नभएर सिङ्गो सुदुरपश्चिमवासीको नै  गर्वले छाती फुलेको छ ।  बैतडीबासी तथा सम्पुर्ण सुदुरपश्चिमबासीका लागि सरकारद्वारा पुरा गरिएको यस सफल  प्रसंसनिय कार्यको लागि मुरी मुरी धन्यवाद दिन चाहन्छु। लामो समयदेखी संचालन बिहिन अवस्थामा रहेको यस विमानस्थलको स्तरोन्नती गरि   सफल परिक्षण उडान गरिनु  सरकारको प्रसंशनिय कार्य हो । यस प्रसंसनिय कार्यलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट अथक प्रयार गर्नु हुने सम्पुर्ण बैतडीबासी जनता  तथा नेतृत्ववर्गहरु साथै अन्य सम्पुर्ण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगी मनहरुमा  हार्दिक बधाई ज्ञापन गर्दछु ।  यस लगत्तै बैतडी तथा सुदुरपश्चिमका अन्य जिल्लाहरुमा निर्माणाधिन र निर्माण सम्पन्न भएका  अरु ठुलठुला योजनाहरुको पनि चाडै नै समुद्घाटन भइ संचालन होस भन्ने चाहन्छु । जसले गर्दा बैतडी तथा यस क्षेत्रकाे समग्र विकासमा टेवा पुगोस।
 प्रत्यक्षरुपमा सेवा लिन पाउने पहाडका  ३ जिल्ला दार्चुला, बैतडी र डडेल्धुरा र अरु पहाडी जिल्लाहरुमा समेत यातायातमा एउटा नया आयाम थपिएको छ, हवाइ यातायातका रुपमा। यस नया आयामले बैतडी र यि अन्य जिल्लाहरुको आर्थिक विकासमा पनि प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ । यो एउटा अर्थतन्त्रमा नै ठुलो  एेतिहासिक फड्को हुन सक्दछ। यो विमानस्थल संचालन हुनाले यस क्षेत्रको पर्यटन व्यवसाय , होटेल तथा वासस्थान व्यवसाय र अन्य साना ठुला विभिन्न व्यवसायहरुको विकासमा प्रत्यक्ष रुपले ठुलो भुमिका निर्वाह हुने  प्रष्ट देखिन्छ । तर यस विमानस्थलको अबस्था पनि पाटन मा सफल परिक्षण उडान गरिएको प्याराग्लाइडिङ व्यवसाय जस्तै उद्घाटन पश्चात लगत्तै  सुस्त  भएर नजावस्।  विमानस्थलले हप्तामा एक पटक अथवा २ पटक मात्रै विमानको मुख देख्नु पर्ने स्थिती देख्न  नपरोस ।  बाह्रै महिना  हप्ताका सातै दिन सातै बार   पुर्व मेचि देखी पश्चिम महाकाली सम्म, गाउँदेखी शहर सम्मका सम्पुर्ण देशबासी यात्रुहरु  तथा अन्य विदेशी यात्रु अनि सम्पुर्ण  पर्यटकहरुले चाहेको बेला सजिलै सित  नियमित सेवा लिन पाउने गरि यस विमानस्थलमा दैनिक एक विमान  उडानलाई प्रोत्साहन दिइयोस । दिर्घकालसम्म सबै जनताहरुले हवाइ सेवा लिन पाइ रहुन्।
 यस विमानस्थल वरीपरिको छोटो दुरीमै देशलाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान दिलाउन सक्ने थुप्रै साना ठुला पर्यटकिय क्षेत्रहरु मौजुद छन्। हामीलाई थाहा छ हवाइ यातायात र पर्यटन एक सिक्काका २ पाटा नै हुन,  एक अर्कामा परिपुरक छन्। त्यसकारण  पर्यटन र हवाइ यातायातको विकास सँगसँगै हुनु जरुरी मात्रै हैन अति आवस्यक छ।
   एसियाकै गहिरो गुफा पत्तालभुमेश्वर तथा त्यसै क्षेत्रमा विस्वास नै गर्न नसकिने टाकुरामा रहेको सुन्दर तलाउ र त्यसै   वरीपरिको ४०० हेक्टर क्षेत्रफलको घना जङ्गल अनि जङ्गली जनावर तथा चराचुरुङ्गीहरुको मनमोहकता सहितको  पर्यटकहरुको आकर्षण केन्द्र हो।  जुन पाटन बिमानस्थलबाट जम्मा साढे १२ किलोमिटर मात्रको दुरीमा अबस्थित छ ।अर्कोतिर पाटन विमानस्थलकै छेउमा रहेको राजा उदयदेवको आकर्षक मन्दिर , प्राचिन प्यागोडा शैलिमा बनेको मेलौली भगवतीको मन्दिर (जसलाई पशुपति मन्दिरको शैलिमा बनाईएको छ) र मन्दिर अगाडीकै ठुलो मैदानी फाँट, अति नै सुन्दर तथा एकदमै पाइक पर्ने ठाउँमा अवस्थित निङ्गलाशैली भगबती मन्दिर , देशमै नमुना मानिएको त्रिपुरा सुन्दरी मन्दिर , बैतडी जिल्ला भित्रका बिभिन्न उपत्यकाहरु र मैदानी फाटहरु, पाटनको सुर्नया नदि तथा सुरुङ सहितको पानीको नहर र यसै क्षेत्रको ५०० किलोवाट क्षेमताको जलविद्युत योजना, चमेलिया नदि तथा चमेलिया  जलविद्युत आयोजनाका ड्यामहरु , महाकाली नदिका मनोरम दृश्यहरु , पञ्चेश्वर क्षेत्रका सुन्दर ठाउँहरु तथा  जलविद्युत आयोजना, सुन्दर पुर्चौडी क्षेत्र, दार्चुलाको मालिकार्जुन मन्दिर ,अपि नाम्फा तथा अन्य हिमाल र हिमशृङ्खलाका मनोरम दृश्यहरु, डडेल्धुराको भव्य उग्रतारा मन्दिर,घटालस्थान क्षेत्र, भागेस्वर मन्दिर, तेलेको सबभन्दा लामो लेक शृङ्खला  साथै पहाडी जिल्लामा अवस्थित अन्य हजारौँ आकर्षक पर्यटन गन्तब्यहरुको अवलोकन गर्न आउने हरेक पर्यटकहरुका लागि यो विमानस्थल पहिलो गन्तब्य हो ।  यि क्षेत्रहरु  सम्म टाढाका पर्यटकहरूलाई सजिलै आवत जावत गर्न यस विमानस्थलको  नियमित संचालन हुनु जरुरी देख्दछु ।
 यातायातको विकासले प्रत्यक्ष रुपमा   सर्वप्रथम असर गर्ने क्षेत्र  भनेको आर्थिक क्षेत्र नै हो।  त्यसैले  तत्काल ठुला-ठुला  उद्योग र व्यवसाय संचालन गरि आर्थिक समृद्दी ल्याउन   कठिन परिस्थिति शृजना  हुने हाम्रो सुदुरपश्चिमका यि पहाडी  जिल्लाहरुको आर्थिक उन्नतीमा पर्यटन व्यवसायको विकासबाट मात्रै पुर्ण राहत मिल्न सक्ने प्रष्ट  देखिन्छ । जसको लागि सर्वप्रथम हवाइ यातायातको विकास र संचालन हुनु जरुरी थियो र नभन्दै संचालन पनि भयो। साथै  पर्यटन व्यवसाय फस्टाएमा हवाइ यातायात संचालनमा पनि सकारात्मक प्रभाब पर्दछ।  त्यसैले  हवाइ यातायातको संचालनका निमित्त पनि पर्यटन व्यवसायलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्ने निश्चित देखिन्छ। यो बिमानस्थल संचालन सँगै  पाटनमै तथा जिल्लाका अन्य क्षेत्रमा पनि ठुला ठुला होटेल संचालन गरेर मनग्य आम्दानी गर्न सकिने तथा  युवाहरुलाई पनि पर्यटन व्यवसायी बनेर आर्थिक लाभ लिन मिल्ने गरि  बाटो खुल्ला भएको छ।
 पर्यटनलाई नै पहिलो प्राथमिकता दिनको लागि विमानस्थलको  यस सफल समुद्घाटन सँगै बैतडीकै पाटनमा संचालन गरिने भनिएको प्याराग्लाइडिङ पनि तत्काल संचालन हुनुपर्दछ। प्याराग्लाइडिङ कै मजा लिन पोखरा र अन्य ठाउँ सम्म लामो यात्रा तय गर्ने यहाका  स्थानिय पर्यटकहरु र समय परिस्थितीले पनि  पोखरा तथा बाहिर तिर जान नसक्ने अबस्था  भएका तर रमाउन चाहने सबै स्थानिय  पर्यटकहरुले पनि   प्याराग्लाइडिङको मजा लिने अबसर पाउने छन्। पोखरा फेवाताल र प्याराग्लाइडिङले गर्दा नै पर्यटकहरुको लागि आकर्षक गन्तव्य बनेको हो । खतरा सँग खेल्न चाहने पर्यटकहरु एकै ठाउँमा मात्रै रमाउन र खतरा मोल्न चाहदैनन् । एक पल्ट  पोखरामा प्याराग्लाइडिङ गरेर रमाएको पर्यटक अर्को पल्ट अर्को नयाँ ठाउँमा  गएर तेहि किसिमको खतरा मोल्नको लागि अबसरको  खोजिमा हुन्छ। त्यस किसिमका पर्यटकहरुका लागि उनिहरुको अर्को  वैकल्पिक  गन्तब्यका रुपमा बैतडीको प्याराग्लाइडिङलाई विकास गर्नु जरुरी देखिन्छ।
सँग सँगै पाटन विमानस्थलकै सेरोफेरोमा रहेका  अन्य पर्यटकिय गन्तव्य क्षेत्रहरुको विकास र प्रवर्द्वन  तथा प्रचार प्रसार ले पाटन विमानस्थलको दैनिक नियमित संचालनलाई टेवा पुय्राउन सक्दछ। उदाहरणको लागि विमानस्थलकै छेउमा रहेको राजा उदयदेवको मन्दिर क्षेत्रको थप विकास गरि पर्यटकिय आकर्षण केन्द्र को रुपमा विकास गर्न सकिन्छ। बैतडीलाई मात्रै नभई सिङ्गो सुदुरपश्चिम तथा पुरा देश र सारा  एसियालाई नै आकर्षण गर्न सक्ने  क्षेमता भएको सुन्दर पत्तालभुमेश्वर गुफा तथा तलाउ क्षेत्रको पनि बिकास र प्रवर्द्वन तथनप्रचार प्रसार गरि पर्यटकिय आकर्षण बढाउनु अति आवस्यक छ ।  पर्यटकहरु आकर्षित गर्न सकिएमा पाटन  बिमानस्थलको नियमित प्रयोग गरि थुप्रै पर्यटक भित्रिन्छन। त्यसपछि लोकल गाडी र होटेलहरुको प्रयोगमा पनि टेवा पुग्दछ। साथै केहि वेरोजगार युवाहरुले टुरिष्ट गाइड र अन्य भुमिकामा रोजगारीको अबसर प्राप्त गर्न सक्दछन्। विभिन्न सेवामुलक अफिस तथा एजेन्सी संचालन गरि आम्दानी गर्न सक्दछन्।
त्यसै गरी अर्को पर्यटकिय गन्तव्यको रुपमा मेलौली भगवती मन्दिर  त्रिपुरा सुन्दरी मन्दिर , निङ्गलाशैनी मन्दिर ,उग्रतारा मन्दिर आदिको पनि थप विकास र प्रवर्द्वन गर्नु जरुरी छ। बिभिन्न ठाउँहरुमा हिमाल शृङ्खला तथा टाकुराहरु अबलोकन गर्न मिल्ने  भ्यु टावरहरु बनाउनु पर्दछ । ठाउँ ठाउँमा फोटो स्पोटहरुको विकास गर्नु पर्दछ।  यसरी मनग्य पर्यटकहरु आकर्षण गर्न सकिन्छ। जसले नियमित विमान संचालनलाई टेवा पुग्ने देखिन्छ।
 बेला बेलामा लाग्ने पहाडी जिल्लाका मेला जात्राहरुले पनि ति समयमा घर बाहिर रहेका  स्थानिय मानिसहरुलाई  घर फर्कने माहोल शृजना गर्दछ। दशै तिहार र यस्ता मेला पर्वका बेला  सडक यातायातमा  खुट्टा छिराउने ठाउँ नमिल्ने गरि गाडिमा घुँइचो हुन्छ। यि समयहरुमा वैकल्पिक यातायातको रुपमा हवाइ यातायात वढी प्रयोग हुने स्पष्ट देखिन्छ ।  यो वेलामा दिनमा २-३ उडान पनि खपत हुन सक्दछन् । अन्य समयमा पनि यस शिलशिलालाई बरकरार राख्न यस्ता मेला जात्राहरुलाई थप आकर्षित गर्नु पर्दछ। जसका लागि बिभिन्न अनौठा प्रतियोगिताहरु संचालन गर्ने र  मेलाका अन्य आकर्षणहरु थप  गर्न सकिन्छ। यसमा सम्पुर्ण युवाहरुको विशेष भुमिका रहन्छ। साथै सबै सम्बन्धित पक्ष सक्रिय हुनु पर्दछ ।
 अन्तत: यो खुसीलाई सधै जिवित राख्न विमानस्थललाई दैनिक संचालन गर्न  सम्पुर्ण सम्बन्धित सरकारी तथा गैर सरकारी पक्षबाट सक्दो पहल होस । जनतामाझ नेतृत्व पक्ष भाषणले होइन कर्मले लोकप्रिय बनुन्  ।जिल्ला तथा जिल्ला बाहिरको ठुला ठुला दबाब दिन सक्ने नेतृत्वहरुले  विमानको दैनिक संचालनको लागि अझै दबाब दिएर प्रक्रियागत हिसाबले अघि बढ्नु जरुरी देखिन्छ। यसका साथसाथै जिल्लाको स्थल यातायातको विकासमा पनि सबै सम्बन्धित पक्षको ध्यान केन्द्रित हुनु पर्दछ ।हामीहरुलाई हेक्का होस कि सबै क्षेत्रको समग्र विकास भएमा मात्रै  सर्बत्र समृद्दी सम्भब छ  र हरेक क्षेत्रको समृद्दी नै समृद्द नेपालको पहिलो खुड्किलो हो । आफ्नो व्यक्तित्व विकास समाज परिवर्तनको पहिचान हो , समाज परिवर्तन हुनु समाजको विकास हुनु हो ,समाज समाजको विकास हुनु समग्र जिल्लाको विकास हुनु हो  र हरेक जिल्ला जिल्लाको विकास नै सबै प्रदेश र देशको विकास को आधार हो । यसको लागि सबै क्षेत्रबाट हामी सबैले जागरुक हुनु जरुरी छ  । यस विषयमा सम्बन्धित सबै पक्षको ध्यान जावस । आफ्नो क्षेत्रमा विकास र परिवर्तन सम्भव गर्न सक्ने पक्षलाई गर्न नसक्ने पक्षले सक्दो  साथ र समर्थन गरि हाम्रो लागि हामीले नै  केहि   गर्नु पर्छ भन्ने मान्यताका साथ अघि बढ्नु पर्दछ। परिवर्तन हाम्रै हातबाट सम्भब छ । परिवर्तन र विकासकै लागि जिल्लाको समग्र सक्षम पक्षहरु एक धारमा उभिन सक्नु पर्दछ। राजनितिक वा सामाजिक जुनसुकै  नेतृत्व पक्षबाट यदि  कसैले हाम्रो लागि राम्रो गरिरहेको छ भने थप हौसला र उर्जा  सहित साथ समर्थन दिनु  र गलत गरिरहेको छ भने सहि समय र ठाउँमा खबरदारी गर्नु हामी जनसमुदाय र हरेक युवाहरुको प्रमुख दायित्व हुन्छ। विकासको बाटोमा कसैले बाधकको भुमिका नखेलोस । सबैलाई चेतना भया।

✒

            धन्यवाद ! 
 चेतन बिक्रम चन्द
       सुर्नया गा.पा. -०२, बैतडी
       हाल धनगढी 
       बि.बि.एस. तेस्रो बर्ष अध्ययनरत
-सम्प्रेशीत सम्पुर्ण शब्द लेखकका व्यक्तिगत विचार हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार