स्वास्थ्य सुरक्षा मापदण्डको पालन गर्दै बैतडीको निङ्गलासैनी भगवती मन्दिरमा ५० रागाको बली

निङ्गलासैनी भगवती मन्दिर

धनगढी : कोरोना महामारीका कारण बैतडीमा महाअष्टमीका अवसरमा लाग्ने मेला नलागेपनि पशुबली दिइएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा कोरोना महामारीकैबीच पशुबली चढाउन दिइएको हो । स्थानीय प्रशासनले रोक लगाएपनि भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्डको पालन गर्दै यसअघि नै भाकल गरिसकेका भक्तजनहरुले पशुबली दिएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

उनका अनुसार बोकाको बली नदिइएपनि मन्दिरमा ५० वटा रागाको बली चढाइएको छ । ती रागाहरु बिहान ६ बजे भित्र बली चढाइसकेको उनले बताए । स्थानीय प्रशासनले रोक लगाउँदा समेत सर्वसाधारणले नमानेपछि बाध्य भएर मन्दिरमा बली दिन अनुमती दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बैतडीका अन्य शक्तिपीठहरुमा समेत बली चढाईएको बताइएको छ तर विवरण भने सार्वजनिक गरिएका छैनन् । जिल्ला प्रशासन कार्यालयले यसअघि नै सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमका कारण मन्दिरहरुमा सामूहिक पूजापाठ गर्न तथा पशुबली चढाउन रोक लगाएको थियो ।

तर स्थानीयले भने धार्मिक परम्परा र आस्थालाई तोड्न नसकिने भन्दै पशुबली दिइरहेका हुन् । निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाअष्टमीका दिन पशुबली दिने गरिन्छ । सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल उग्रतारामा पनि महाअष्टमीमा लाग्ने मेलामा बली चढाउने गरिएको थियो । तर यसवर्ष भने कोरोना महामारीका कारण मेला नलागेको बताइएको छ ।

यस्तै डोटीमा समेत डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेका कारण ठुलो मेला र पशुबली दिईएको छैन । मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढेपछि कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेपछि महाअष्टीमा पर्वमा लाग्ने मेला नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार