११ चैत देखि बन्द गरिएको धार्मिक गतिविधि ८ महिनापछि मंसिर १ देखि पुर्ण रुपमा खुला हुने

११ चैत देखि बन्द गरिएको धार्मिक गतिविधि ८ महिनापछि मंसिर १ देखि पुर्ण रुपमा खुला हुने

शिवपुरीधाम धनगढी, कैलाली

काठमाण्डौ: सरकारले १ मंसिरदेखि सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो । ‘काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, ‘१ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाएर लैजान प्रस्ताव तयार पारिएको छ ।’

पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।

धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका थिए । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।

स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भिœयाउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछ ।

यता पशुपति क्षेत्रले मात्रै दैनिक लाखौँ आम्दानी गुमाएको भन्दै मापदण्ड अपनाएर दसैँ अगाडिदेखि नै खोल्न पहल गरेको थियो । नेपालमा पशुपति, मनकामनासहित मुक्तिनाथमा आन्तरिक र बाह्य दुवै पर्यटकहरूको घुइँचो लाग्ने गरेको थियो ।

धार्मिक क्षेत्र र सीमानाका बन्द हुँदा मानसरोवरमा भारतीय तिर्थालुसमेत जान रोकिएका छन् । नेपालबाट १ लाख ५० हजारभन्दा बढी भारतीयहरू मानसरोवर जाने गरेका थिए ।

कोभिड–१९ को संक्रमणका बीच पछिल्लो महिनामा दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । जुन क्रम बढ्दै गएकाले धार्मिक गतिविधि बढाउने बित्तिकै देशैभरि चहलपहल र आर्थिक गतिविधि बढ्ने बुझाइ सरकारको छ । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणमा आउन खुला गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को अक्टोबर महिनामा मात्रै १ हजार ८ सय ७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । हाल पर्वतारोहण र पदयात्रा मात्रै खुला गरेको सरकारले १ मंसिरदेखि जुनसुकै देशका पर्यटकलाई नेपाल खुला गर्ने र सबै गतिविधि र गन्तव्य खुलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार