‘भू-स्वर्ग’ खप्तड क्षेत्रमा हिमपात, तापक्रम माइनस ५ डिग्री

भू-स्वर्ग खप्तड
भू-स्वर्ग खप्तड

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल ‘भू-स्वर्ग’ खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।

आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए । उनले भने, ‘खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेको छ, हिमपातका कारण चिसो पनि बढेको छ ।’ हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको उनको भनाइ छ ।

आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय धनबहादुर विष्टले जानकारी दिए । गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

मंगलबार बिहान भने खप्तडलगायतका क्षेत्रको मौसम सुधार हुनुका साथै बिहानै घाम लागेको बग्लेकका स्थानीय हर्कबहादुर साउदले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार