फेसबुकले अकाउन्ट सुरक्षाका लागि अब छुट्टै चाबी दिने

Facebook Key

वर्षौंदेखि हाम्रो घर तथा अफिसको ताला चाबी हामीसँगै छ । प्रविधिको विकाससँगै इन्टरनेट कम्पनीहरुले पासवर्ड रुपी ‘भर्चुअल’ ताला चाबीमार्फत सुरक्षाको तौरतरिका फेरिदिए ।

हुँदा हुँदा अहिले आएर घर, पसल र बाकसको सुरक्षा समेत पासवर्डको भरोसमा चल्न थालेको छ । बैंक अकाउन्ट, लकर, घरको सुरक्षा प्रणाली सबैमा यस किसिमको भर्चुअल चाबीको प्रयोग बढ्दै गएको छ । तर प्रविधि कम्पनीनै पुरानो जमानाको चाबीमा भर पर्न थाले भने के होला ?

हालै मात्र विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले डेटा सुरक्षालाई थप प्रभावकारी बनाउन आउँदो वर्ष विश्वभरका प्रयोगकर्ताका लागि ‘फिजिकल सेफ्टी कि’ (भौतिक सुरक्षा साचो) उपलब्ध गराउने घोषणा गरेको छ ।

फेसबुकका सुरक्षा नीति प्रमुख नथानियल ग्लिकरका अनुसार प्रयोगकर्ताले विभिन्न बिक्रेतामार्फत यो टोकन अर्थात फिजिकल साँचो खरिद गर्न सक्नेछन् । यस्ता साचोहरु अनलाइनबाट समेत खरिद गर्न सकिने बताइएको छ । फेसबुकमा रजिस्टर गर्दा नै यसको प्रयोग गर्न सकिनेछ ।

फेसबुकले भनेको छ कि ह्याकरहरुले महत्वपूर्ण व्यक्तिका सामाजिक सञ्जालसँग जोडिएका जानकारीहरुलाई निशाना बनाइरहेका छन् । यदि तपाईं सीईओ वा ठूलो नेता होइन भने पनि तपाईं आफ्नो क्षेत्रको महत्वपूर्ण व्यक्ति हुन सक्नुहुन्छ वा तपाईंलाई ह्याकरले निशाना बनाउन सक्छन् ।

ह्याकरको खतराबाट जोगाउनका लागि फेसबुकले अहिलेसम्म संरक्षणको रुपमा टु स्टेप भेरिफिकेसन तथा रियलटाइम मनिटरिङ प्रयोग गर्दै आएको छ । तर ‘फिजिकल सेफ्टी की’ सार्वजनिक हुने सन्दर्भलाई लिएर अन्ततः प्रविधि कम्पनीहरु समेत वर्षौंदेखि चलनचल्तीमा रहेका पुरानै सुरक्षा मानकमा फर्किनु परेको अर्थमा विश्लेषण गर्न थालिएको छ ।

यदि प्रयोगकर्ताले सेक्युरिटी साचो प्रयोग गरेको खण्डमा ह्याकरले पासवर्ड पत्ता लगाएको अवस्थामा समेत उनीहरुको अकाउन्टमा घसपैठ गर्न नसक्ने फेसबुकको दाबी छ । अहिलेसम्म फेसबुकले यस्तो ‘भर्चुअल की’ अमेरिकी नेता, सरकारी निकाय र मतदान कर्मचारी जस्ता हाई प्रोफाइल अकाउन्टका लागि उपलब्ध गराउँदै आएको छ ।

अब भने आउँदो सालदेखि विश्वभरका आम प्रयोगकर्ताले समेत मोबाइल एप तथा डेक्सटपमा लग ईन अघि पहिचान पुष्टी गर्नका लागि ‘फिजिकल सेफ्टी की’ प्रयोग गर्न सक्नेछन् । ‘फिजिकल सेफ्टी की’ पेन्ड्राइभ जस्तै हुने गर्छ ।

यसलाई यूएसबी पोर्टमा लगाउनुपर्ने हुन्छ । गुगलले सबैभन्दा पहिला सन् २०१४ मा ‘यूएसबी सेक्युरिटी की’ सार्वजनिक गरेको  थियो । फेसबुकको ‘फिजिकल सेफ्टी की’ को मूल्य कति पर्नेछ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । -टेकपाना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार