आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपाल
Advertisement

आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ । १९९६ सालमा असोज १८ गते काठमाण्डाैको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको छ । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ । यस्तै, उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ ।

२०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गरेका उहाँले २०१८ साल पछि गायनमा सक्रिय हुनु भएको थियो । नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाउनु भएको थियो ।

यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित हुनु भएको थियो । जगदम्बा पुरस्कारबाट सम्मानित हुने उहाँ नै पहिलो गायक भएका गीत सङ्गीत क्षेत्रका ज्ञाता प्रकाश सायमीले बताउनुभयो ।

नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वै‌ंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अजरअमर छन् ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार