‘खराब तत्त्वलाई गाउँमै ठेगान लगाउनु, माथि गए दुःख दिन्छन्’: प्रम ओली

...देश विकासको जिम्मा म लिन्छु !

प्रम ओली
फाईल तस्बिर

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्रीका हैसियतले आफूले अन्य विकल्प नभएपछि प्रतिनिधिसभा विघटन गरेको दोहोर्‍याएका छन् । उनले संसद् चल्न नदिएर निकम्मा बनाउन खोज्ने अवस्था आएपछि ताजा जनादेशका लागि जानुपरेको बताए ।

नेकपा विभाजनपछि शुक्रबार पहिलोपटक आफ्नो समूहद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था, राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र मान्यताअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको दाबी गरे । ‘अब संसद् वैशाखमा हुने निर्वाचनबाट आउँछ,’ उनले भने, ‘निर्वाचन वैशाख १७ र २७ मा हुन्छ र निर्वाचन आयोग त्यसको तयारीमा लागेको छ ।’ उनले खराब तत्त्वलाई गाउँमै ठेगान लगाउन पनि आह्वान गरे । ‘खराब तत्त्वमाथि गए दुःख दिन्छन्,’ उनले भने, ‘गाउँगाउँमै ठेगान लगाउन अरू केही गर्नु पर्दैन, त्यस्ता तत्त्वलाई भोट नहाल्नुस् । मैले हस्ताक्षर गरेर पठाएका उम्मेदवारलाई जिताएर पठाउनुहोस्, देश विकासको जिम्मा म लिन्छु ।’

प्रधानमन्त्री ओलीले पार्टी छोडेर भागेकाहरूको कुरा सुनेर प्रभावित नहुन पनि आह्वान गरे । उनले पार्टीको अर्को समूहका नेताहरूलाई केन्द्रीय समिति बैठकमा नगएर मुख छोडेर गालीगलौज गर्ने, अश्लील गालीगलौजका नारा लगाउने गरेको आरोप लगाए । ‘आफूलाई दन्तबजान गर्ने फुर्सद छैन,’ उनले भने । सम्बोधनक्रममा प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलप्रति नाम नलिईकनै निकै कडा टिप्पणी गरेका थिए । ‘लिपुलेक–लिम्पियाधुराको अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गरेपछि यही प्रदेशका केही मान्छेलाई छटपटी भएको छ,’ उनले रावललाई लक्षित गर्दै भने, ‘मैले मन्त्री बनाएका बेलामा ओली ठीक छ भन्ने, उहाँलाई मात्र मन्त्री बनाउनुपर्ने ? पद पाए ठीक नत्र बेठीक ? अहिले सुदूरपश्चिमबाट चार जना मन्त्री बनाउँदा पनि उहाँ दुःखी हुनुको कारण सालघारीको वन मास्ने योजना सफल नहुने देखेर हो ।’

ओलीले रावललाई लक्षित गर्दै उनी प्रदेश विकासको बाधक भएको आरोप पनि लगाए । ‘सडकबाट उठाएर ल्याएको अछामको केटोका कुरा अहिले त ठूला छन्,’ ओलीले भने, ‘नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो गर्नेहरूले यस प्रदेशको समस्या समाधानमा के गरे ?’ उनले दाहाल–नेपाल समूहमा गएकाप्रति व्यंग्य गर्दै ‘पिलो निचोर्दैमा वजन घटेको हुँदैन’ भन्ने भनाइ उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहप्रति थप आक्रामक हुँदै ३ करोड मान्छेमा २ सय ६५ जना गयौं भनिरहनुलाई नुहाउँदा २/४ केस झरेर जानुसरह भएको बताए । ‘दुई अंक जितेर देखाउनुहोस्, अर्थात् १० सिट ल्याएर देखाउनुस्,’ ओलीले भने, ‘ठूला कुरा गरिरहेका छन् । यो छोरी, बुहारी, ज्वाइँ र अन्य नातेदारको पार्टी होइन । निरर्थक गफ नगरे हुन्छ, आँखा आफन्ततिर होइन, देशतिर लगाउनुस् ।’

आफ्नो पूरै सम्बोधनका क्रममा कांग्रेसबारे एक शब्द उच्चारण नगरेका उनी पुष्पकमल दाहाल, माधवकुमार नेपाल र भीम रावलप्रति भने निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । ‘काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको हुँ तर सुध्रिएनन्, जस्ताको तस्तै प्रवृत्ति र मति पनि,’ उनले भने । नेता नेपाललाई आफूले राजनीतिमा ल्याएको प्रधानमन्त्रीको दाबी थियो । ‘महेन्द्र मोरङ क्याम्पसमा पढ्ने बेला मैले राजनीतिमा ल्याएको हुँ,’ उनले भने । उनले आफू ५० वर्ष अगाडिदेखि गणतन्त्रका लागि लागिपरेको पनि दाबी गरे ।

सम्बोधनका क्रममा ओलीले सुदूरपश्चिमको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । त्यसक्रममा उनले दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको, पञ्चेश्वर परियोजना अघि बढेको, पश्चिम सेती अघि बढाउने र गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया सुरु भएको बताए । यस्तै, गौरीफन्टा सीमा नाकाको स्तरोन्नति, सेती लोकमार्ग, दार्चुलाको छाङरु जाने बाटो निर्माण, सेती लोकमार्ग र खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण, उरै नाकामा सडकलगायतका योजनाहरूको उनले चर्चा गरेका थिए । धनगढीमा पुगेलगत्तै प्रधानमन्त्रीले आफूनिकट नेता–कार्यकर्तासँग भेटघाट गरेका थिए । सुदूरपश्चिममा ओली र दाहाल–नेपाल पक्षले बेग्लाबेग्लै कार्यक्रम आयोजना गरिरहेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले धनगढीमा आयोजना गरिएको कार्यक्रमलाई काठमाडौंबाहिर पहिलो रोजाइमा पारेका हुन् । उनी साँझ काठमाडौं फर्किएका थिए ।

धनगढी आएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उनीनिकट नेता–कार्यकर्ता धनगढी विमानस्थल पुगे पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । विगतमा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरू उपस्थित हुने भए पनि यसपटक सरकारका प्रतिनिधि देखिएनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रधानमन्त्री आउनेबारे कुनै जानकारी नदिइएकाले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

‘पार्टी विभाजनमा पुगेका बेला आफूनिकट नेता–कार्यकर्तालाई भेट्ने र आमसभालाई सम्बोधन गर्ने राजनीतिक कार्यक्रम भएकाले मुख्यमन्त्री कार्यालयलाई जानकारी नदिइएको होला,’ स्वकीय सचिव शिवसिंह ओलीले भने । प्रधानमन्त्री प्रदेश राजधानीमा पुगेका बखत मुख्यमन्त्री भट्ट स्वागतमा नपुगेको घटनालाई मन्त्री प्रेम आलेले मुख्यमन्त्रीद्वारा सामान्य शिष्टाचारको समेत ख्याल नगरिएको बताए । शब्द साभारः कान्तिपुर

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार