रामचन्द्रजी खाली पुनःस्थापना भन्नुहुन्छ, निर्वाचनको तयारीमा लाग्नुस् : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि

जनकपुर । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद पुनःस्थापना र निर्वाचन दुवै विकल्प आफूहरुलाई मञ्जुर रहेको बताएका छन् । सोमबार जनकपुरमा जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका उपसभापति निधिले संविधानलाई ट्रयाकमा ल्याउनका लागि प्रतिनिधिसभा आवश्यक रहेकोले प्रतिनिधिसभा अपरिहार्य रहेको बताए  ।

उनले भने, प्रतिनिधिसभा फर्काउनका लागि सर्वोच्च अदालतको फैसला वा निर्वाचन मात्र विकल्प रहेकाले काँग्रेस दुवै विकल्पका लागि तयार छ । उनले सडकबाट संसदको पुनःस्थापना सुरक्षित नरहेकाल अदालतको फैसलाले जे निर्णय गर्नेछ,त्यो नै मान्य हुने स्पष्ट धारणा दोहोर्याए । उनले काँग्रेसको कारण मुलुक ध्वस्त नुहने दावी गर्दै उनले लोकतन्त्रका लागि काँग्रेस अग्रसर रहेको जिकिर गरे ।

उनले भने, ‘लोकतान्त्रिक दलको हैसियतले काँग्रेस चुनावबाट कहिले भाग्दैन पार्टीकै कतिपय साथीहरू अहिले चुनावमा जानु हुँदैन भन्नुहुन्छ, पुनःथापनामा जोड दिनुहुन्छ । यदि संसद पुनःस्थापना भइदिएमा के हामी चुनावको तयारी नगर्ने त ? दुई वर्षपछि चुनावको तयारी गर्ने कि अहिले   देखि नै ?’

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले क्षणिक लाभका कारण अहिले निर्वाचनमा जान नहुने बताइरहँदा उपसभापति निधिले निर्वाचनमा जानु कसरी क्षणिक लाभ हो भनेर प्रतिप्रश्न पनि गरे । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बिना काम यस विषयमा झगडा गरिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘हुनत दुवै जना आ–आफ्नो ठाउँमा ठीकै हो, रामचन्द्रजी खाली पुनःस्थापना भन्नुहुन्छ र देउवाजी–पुनःस्थापना भएपनि ठीक, निर्वाचन भएपनि ठिक भन्नुहुन्छ  । त्यसैले दुवैजना बेकार झगडा गरिरहनु भएको छ ।’

उनले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । उनले प्रतिनिधिसभा पुनःस्थापित नभए काँग्रेसले महाधिवेशनको एजेण्डा पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । -रातोपाटी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार