‘केपी ओलीसँग गएका माओवादी नेता देखेर लाज लाग्‍न थाल्यो’: दाहाल

पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी नेताहरु केपी शर्मा ओली नेतृत्वको समूहमा गएको देखेर आफूलाई लाज लागेको बताएका छन्।

पोखरामा आयोजित कार्यकर्ता भेला तथा अभिमुखीकरणका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओली समूहमा गएका रामबहादुर थापा बादलसहितका नेताहरुमाथि कटाक्ष गरेका हुन्। ओलीसँग गएका नेताहरुले  जनयुद्ध कुहिएको फर्सी भएको कुरा कसरी सुन्न सकेका होलान् भन्दै दाहालले व्यंग्य गरे।

‘माओवादी जनयुद्ध लडेका साथीहरु ओलीतिर लागेको देख्दा मलाई लाज लागेको छ। उनीहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेर गरिएको टिप्पणी कसरी सुन्न सके होलान्’, उनले भने, ‘त्यस्ता साथीहरु देखेर मलाई लाज लाग्ने गरेको छ।’

दाहालले अहिलेको लडाईँ सही र गलत प्रवृत्तिबीचको भएको जिकिर गरेका छन्। ‘विचार, सिद्धान्तबीचको लडाई पार्टी एकतादेखि नै कहिले सामान्य त कहिले भयंकर रुपमा देखा परेको थियो’, उनले भने, ‘गत वर्ष वैशाखदेखि यो लडाईँ अलि चर्को रुपमा देखा परेको थियो, त्यसले ओलीको हठका कारण विभाजनसम्म पुर्‍यायो।

दाहालले गत वर्ष माघ १५ देखि १९ सम्म बसेको दोस्रो केन्द्रीय कमिटी बैठकपछि पार्टीमा जवरजस्ती पूर्व एमाले र पूर्व माओवादीबीचको लडाईँ गराउने कसरत गरिएको बताए। त्यतिबेला माधव कुमार नेपाल कुनै पक्षमा नलागेको भन्दै त्यसमा उनले सम्मान जनाए।

‘व्यक्ति पार्टी मातहत हुने, अल्पमत बहुमत मातहत हुने भनेर पार्टी एकता गरिएको थियो। माओवादी जनयुद्धले नेपालमा राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्यो भनेर सही गरिएको छ’, दाहालले अगाडि भने, ‘त्यही प्रतिवेदन अहिले पनि कायमै छ। त्यो प्रतिवेदनको मर्म र भावनाविपरीत बोल्दा प्रतिगमनको साक्षी बसेकाहरु के भन्दैछन्। के जनयुद्ध कुहेकै फर्सी हो त?’

दाहालले माओवादी आन्दोलनले यो राजनीतिक परिवर्तनमा खेलेको भूमिका स्वीकारेर केपी ओलीले हस्ताक्षर गरेको सम्झिए । ‘ओलीले गरेको त्यो हस्ताक्षर कीर्ते हो त?’, उनले सोधे, ‘यो बेइमानी हो यसलाई हामी स्वीकार्दैनौँ । पहिलो लडाइँ विचार सिद्धान्त विधि विधान र पद्धतिको हो।’

गत वर्ष माघको केन्द्रीय कमिटी बैठकमा आफूले अध्यक्षता गरेदेखि ओलीमा डर पसेको पनि उनले बताए। ‘त्यही सफलता केपी र उनका सहयोगीलाई असह्य भयो। अब सिंगै पार्टीलाई प्रचण्डले आफ्नो ग्रिपमा लाने भएकाले नयाँ नारा उचाले’, उनले भने, ‘त्यो बैठकपछि महाधिवेशनको अध्यक्ष हो भनेको हो। सही र गलतबीचको लडाइँ हो भनेर हामीले भन्यौँ तर केपीजीले विभेद गर्नुभयो। म प्रमाणित र आधिकारिक रुपमा भन्न सक्छु दुई पार्टी लाइनको विषयमा विवाद भएको होइन।’

प्रचण्डले अहिलेको घटनाक्रमले ओलीले जनताको बहुदलीय जनवाद छाडेको र समाजवादउन्मुख जनताको जनवादमा हस्ताक्षर गरेको होइन रहेछ भन्ने लागेको बताए। ‘प्रधानमन्त्री पदका लागि मात्रै हस्ताक्षर गरेको रहेछ। यति ठूलो बेइमानी प्रधानमन्त्री प्राप्त गर्न भएको रहेछ’, उनले भने, ‘पार्टी भित्र विवाद भइरहन्छ, पार्टीमा विवाद नभए त्यो चाहिँदैन। प्रधानमन्त्री हुन पार्टी विभाजन गर्नु परेन। मैले गरिनँ, माधवजीले गर्नु भएर तर पदका लागि ओलीजीले पार्टी फुटाए।’ -फरकधार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार