सरकारले ल्याएको नागरिक एपमा खास के छ ?

नागरिक एप

काठमाडौं: अहिलेको समयमा हामी मोबाइलबाटै अनेक किसिमका सेवा सुविधा लिन सक्छौं । सरकारले पनि आफ्ना विभिन्न सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको छ ।

तर छुट्टा छुट्टै सार्वजनिक सेवाका लागि अलग अलग एप प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले एक किसिमको झन्झटपूर्ण अवस्था सिर्जना गरेको छ ।

विभिन्न एपका लागि फरक फरक लग ईन र पासवर्ड सम्झिरहनु अहिलेको समयमा एउटा बेग्लै चुनौती हो । यस किसिमका समस्याको अन्त्य गर्दै संभव भएसम्मका सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी सरकारले नागरिक एप ल्याएको हो ।

सुशासन, विकास र समृद्धि प्राप्तिका लागि सरकारले डिजिटल नेपाल निर्माण गर्ने घोषणा गरेको छ । २०७५/७६ को सरकारी नीति तथा कार्यक्रमले नै परिकल्पना गरेको नागरिक एप डिजिटल नेपालको लागि एउटा महत्वपूर्ण आधारशिला हुने विश्वास लिइएको छ ।

राजस्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता निकायमा सेवा लिन जाँदा पक्कै पनि तपाईंले अनेक झन्झटको सामना गर्नु भएकै होला । नागरिक एपले यस्ता सेवाका लागि सकेसम्म सरकारी कार्यालय जानै नपर्ने अवस्था ल्याउने सरकारको दाबी छ ।

यसबाट नागरिकको समय बचत हुने, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढाएर भस्ट्राचार न्यूनिकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो एप हरेक नेपाली नागरिकले सहजै प्रयोग गर्न सक्ने गरी तयार पारिएको छ ।

अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सकिने डिजिटल विवरण छन् । उदाहरणको लागि गृह मन्त्रालयसँग दुई करोडभन्दा बढी नागरिकताको विवरण छ ।

औंठा छाप र फोटोसहित एक करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगको सर्भरमा छ । त्यस्तै ६० लाखभन्दा बढी नागरिकको पासपोर्ट राहदानी विभागसँग छ ।

यी तीनै स्थानमा रहेका विवरणलाई प्रयोग गरी यो एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । यसमा क्रमशः राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना छ ।

कुनै सेवा लिँदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न एपले स्वचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टी गर्ने काम गर्दछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता अनेकथरी विवरण बुझाउनुपर्ने लगायतका झन्झट यसले अन्त्य गरिदिने बताइएको छ ।

उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेर त्यसकै आधारमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रकृया थाल्न सकिन्छ । यो सेवा एपमा उपलब्ध भइसकेको छ ।

आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप र यसमा रहेका सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता छ भन्ने कुरा एपले स्वचालित रुपमा पत्ता लगाउन सक्छ ।

नागरिकता नम्बरकै भरमा एपले सम्बन्धित निकायको सिस्टममा पहुँच बनाउँछ । उदाहरणका लागि कुनै सरकारी कार्यालयलाई तपाईंको प्यान अथवा नागरिकता विवरण चाहिने भए एपले राजश्व विभाग वा गृह मन्त्रालयको सिस्टमबाट स्वचालित रुपमा त्यसलाई प्राप्त गर्न सक्छ ।

यसको अर्थ तपाईंले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्दैन । केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमशः यो एपबाटै प्रदान गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने घोषणा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छ । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

एक क्लिक गरेकै भरमा सम्बन्धित सरकारी सेवाका लागि स्वतः आवेदन भरिने गरी यसको डिजाइन गरिएको छ । सरकारका विभिन्न निकायसँग भएका तपाईंका प्रमाणीत विवरण नै यसले स्वचालित रुपमा रुजु गर्दछ ।

जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नरहने बताइएको छ । पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा यो एपमा समेटिनेछन् ।

यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पुर्‍याउने अपेक्षा छ ।

 -टेचपानाबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार